यसकारण बोर्डले सार्वजनिक गर्‍यो सम्मानित हुनेको सूची

फिल्म । चलचित्र विकास बोर्डले ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधनासम्मान २०८०’ समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै प्रदान गर्ने ‘विशेष योगदान सम्मान’ बाट सम्मानित हुने ३५ जना चलचित्रकर्मीको नामावली सार्वजनिक गरेको छ । शुक्रवार बसेको बोर्ड बैठकको निर्णयपछि वेबसाइटमार्फत शुक्रबार बेलुकी नाम सार्वजनिक गरिएको हो । बाेर्डले सम्मानित चलचित्रकर्मीको नाम पहिला नै सार्वजनिक गरेर पारदर्शिता अपनाएको भन्ने चर्चाकै बीच यो निर्णय राष्ट्रपतिको स्वकीय सचिवालयको दबाबका कारण भएको खबर बाहिरिएको छ ।

बोर्डका एक सदस्यले दिएको जानकारी अनुसार राष्ट्रपतिको स्वकीय सचिवालयले लोकतन्त्रमा पारदर्शिता र जवाफदेहिता अनिवार्य सर्त भएकाले ती मूल्य र मान्यता पुरा नगरिएका र प्रक्रिया नपुर्‍याईएका नामावलीमा सम्मान गर्न नसकिने अडान लिएपछि बोर्ड वैठक बस्दै इतिहासमा पहिलोपटक नामावली सार्वजनिक गर्न बाध्य भएको हो । बोर्ड पदाधिकारीहरूले नामावली सार्वजनिक नगरी एकैपटक समारोहमा घोषणा गर्न पटक पटक अनुरोध गरे पनि राष्ट्रपतिको स्वकीय सचिवालयले स्वीकार नगरेको बोर्डका ती सदस्यले बताए ।

यसअघि बोर्डले नामावली कार्यक्रमकै क्रममा मञ्च घोषणा गर्ने गरेको थियो । त्यसरी समारोहमै घोषणा गरिएका नाममध्ये कतिपयको योगदान, चरित्र र आचरणमाथि गम्भीर प्रश्न उठ्ने गरेको थियो । स्वकीय सचिवालयका अनुसार नामावली सार्वजनिक भएसँगै गलत आचरण भएका वा निजी स्वार्थमा सम्मानित गरिएका व्यक्तिको बारेमा प्रश्न उठाउन पाउने सर्वसाधारण अधिकार सुनिश्चित भएको छ ।

बोर्डले वर्षेनी प्रदान गर्दै आइरहेको दीर्घ साधना सम्मान लक्ष्मी गिरी र शिव श्रेष्ठलाई प्रदान गर्ने भएको छ । यस्तै, विशिष्ट सम्मान पाउने ३५ जनाको सूची सार्वजनिक गरेको छ । जसमध्ये केही नाममा विवाद सुरु भएको छ । अर्थात बोर्डले सूची सार्वजनिक गरेसँगै सम्मानका लागि छानिएका नामलाई लिएर सामाजिक सञ्जालमा असन्तुष्टि चुलिएको छ । बोर्डले सरकारको नियुक्ति पाएकालाई पनि सम्मान गर्ने सूचीमा राखेको र विना मापदण्ड नाम छानिएको भन्दै चलचित्रकर्मीले असन्तुष्टि जनाएका हुन् ।

विना मापदण्ड प्रदान गर्दै आएको सूचीमा यसपटक केन्द्रीय चलचित्र जाँच समितिका सदस्य भूपेन्द्र खड्कासमेत छन् । यस्तै, कलाकार भनेर बोर्डले सम्मानित गर्ने लागेको सूचीमा रहेका कमल प्रसाद शर्मा (अर्याल), रामेश्वर केसी, रामेश्वर बुर्लाकोटी र निर्देशक प्रितम गुरुङ लगायतको नाममा चलचित्रकर्मी असन्तुष्ट सुनिएका छन् । बोर्डले वर्षौँदेखि नेपाली चलचित्रमा योगदान गरिरहेकाले सम्झनु साटो एउटा अवार्ड आयोजना गरेकै भरमा युएई एनआरएनका पूर्व अध्यक्ष ठाकुर प्रसाद ढुंगानालाई सम्मानित गर्ने निर्णय गरेको छ ।

यस्तै, सार्वजनिक सूचीमा महिला चलचित्रकर्मी न्यून छन् । ३५ जना सम्मानित हुने सूचीमा ३३ जना पुरुष छन् भने जम्मा दुई जना महिला । यी दुई भाग्यमानीमा एक जना झरना थापा छन् भने अर्की विमला केसी ।

कमेन्ट गर्नुहोस्