फिल्म । निर्माता विनोद पौडेलले आफ्नो आगामी फिल्म ‘अभिमन्यु : च्याप्टर १’ लाई सानो फिल्म नभन्न आग्रह गरेका छन् । उनले फिल्म सानो वा ठूलो भन्ने कुरा रिलिजपछिको बक्स अफिस नतिजाले मात्रै निर्धारण गर्ने बताएका छन् । पौडेलका अनुसार, कास्टिङ (कलाकार) र बजेटले मात्रै फिल्मलाई ठूलो भन्न सकिँदैन । जुन फिल्मले धेरै कमाउँछ त्यो ठूलो र जसले थोरै कमाउँछ त्यो सानो फिल्म हो भन्ने उनको बुझाइ छ । स्टारकास्ट हुँदैमा फिल्म चल्छ र स्टारकास्ट नहुँदैमा चल्दैन भन्ने पुरानो धारणा गलत रहेको उनको तर्क छ ।
आफ्नो तर्कलाई पुष्टि गर्न उनले आफ्नै अघिल्लो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को उदाहरण दिएका छन् । डेढ करोडको लागतमा बनेको उक्त फिल्मले नेपाली बक्स अफिसमा ४६ करोड ८० लाखभन्दा बढी ग्रस कलेक्सन गर्दै ऐतिहासिक रेकर्ड बनाएको थियो । लगानी कम भए पनि व्यापारिक रूपमा त्यो ‘ठूलो फिल्म’ साबित भयो ।
‘पूर्ण बहादुरको सारङ्गी’को कीर्तिमानी सफलतापछि अब उनको दोस्रो फिल्म ‘अभिमन्यु’ले कति कमाउँछ भन्नेमा धेरैको जिज्ञासा रहेको छ । निर्माता पौडेलले आफ्नो फिल्मलाई ‘अन्डर डग’ (Underdog) हरूको कथा भन्दै यसलाई नहेप्न चेतावनी समेत दिएका छन् ।
विभिन्न कारणले पटक-पटक प्रदर्शन मिति सर्दै आएको भए पनि निर्माता पौडेल फिल्मप्रति उच्च आत्मविश्वासी देखिएका छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’ यही मङ्सिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
फिल्मको क्रिएटिभ निर्देशन मदन थापाले गरेका छन् भने कथा तथा पटकथा मुकेश खनालको रहेको छ । विनोद पौडेल र गुञ्जन गिरी मुख्य निर्माता छन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता ।
कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । लाइन प्रोड्युसर जीवन शाक्यको जिम्मेवारीमा फिल्म बनेको हो । शरद महतोको डिओपी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको कलर ग्रेडिङ र मदन घिमिरेको सम्पादन रहेको यो फिल्म सेभेन सिज सिनेमाको प्रस्तुतिमा तयार भएको छ ।









