फिल्म । चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ले पहिलो सातामा ५ करोड ५४ लाख रुपैयाँ ग्रस कमाइ गरेको निर्माण पक्षले दावी गरेको छ । नीता ढुंगाना र हरिहर अधिकारीसहित भारतीय र नेपाली कलाकारको अभिनय रहेको फिल्मले दुई युवायुवतीको रोचक प्रेमकथालाई प्रस्तुत गर्छ ।
निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाले विहिबार बेलुकी फेसबुकमा पोस्ट गर्दै लगानी सुरक्षित गरिसकेको उल्लेख गरेकी छन् । उनले चाँडै विदेशमा समेत फिल्म प्रदर्शन हुने जनाएकी छन् । उनले उक्त पोस्टमार्फत दर्शकलाई धन्यवाद समेत दिएकी छन् ।
‘फिल्मले स्वदेशको प्रदर्शन, विदेशी प्रदर्शन अधिकार, ओटीटी प्रदर्शन अधिकारबाट लगानी सुरक्षित गरिसकेको छ । भारतको ओटीटी प्लेटफर्ममा ३ करोड भारुमा फिल्म बेचिसकेको छु । तेलुगु भाषामा हामीले भारतका हलमा नै फिल्म रिलिज गर्दैछौं । यसैले म सुरक्षित छु’, नीताले उल्लेख गरेकी छिन् ।
फिल्मले दर्शकको उत्कृष्ट ‘वर्ड अफ माउथ’ पाएका कारण आगामी दिनमा व्यापार बढ्ने विश्वास निर्माण टिमलाई छ । नेपाली र भारतीय कलाकारको अभिनय रहेको फिल्मको उच्च मेकिङ र पावरफुल स्टारकास्टका कारण दर्शक माँझ प्रतिक्षित थियो । चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ एउटा पूर्ण रूपको फ्यामिली ड्रामा रहेको बताईएको छ । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।
यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।










