फिल्म । काठमाडौंको धुम्बाराही चौंकमा विविध सेवा–सुविधासहित ‘होटल स्मार्ट’ सञ्चालनमा आएको छ । सोमबार साँझ आयोजित भव्य समारोहमा अभिनेता राजेश हमालसहित चर्चित सेलिब्रेटीहरूको उपस्थितिमा होटलको उद्घाटन गरिएको छ । अभिनेता हमालले होटलको मुख्य प्रवेशद्वारमा पानसमा बत्ती बालेर र रिबन काटेर उद्घाटन गरे ।
यस्तै, गायक प्रमोद खरेलले दोस्रो प्रवेशद्वार, सञ्चारकर्मी प्रकाश सुवेदीले क्याफे, गायिका मिलन नेवार र मेलिना राईले वेलनेस सेन्टर, ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले थकाली सेक्सन र सञ्चारकर्मी सुशिल नेपालले रूफटप बारको उद्घाटन गरे । उद्घाटन समारोहमा अभिनेता हमालले होटलको प्रशंसा गरे ।
उनले भने,‘यदि तपाईंहरूलाई यो होटल मनपर्यो भने मेरो नयाँ घर पनि पक्कै मनपर्नेछ, किनभने यो होटल र मेरो नयाँ घर एउटै टिमले बनाएको हो ।’ अभिनेता हमाल गत वैशाख १ देखि बूढानीलकण्ठस्थित नयाँ घरमा बस्दै आएका छन् । सञ्चारकर्मी प्रकाश सुवेदीले मुख्य हाइवेमा यति धेरै सुविधासहितको होटल बन्नु प्रशंसनीय रहेको बताए। गायक प्रमोद खरेल, मेलिना राई र मिलन नेवारले ‘द भ्वाइस अफ नेपाल’को स्टुडियो नजिकै रहेकाले यो होटल रिफ्रेसमेन्टका लागि उपयुक्त हुने उल्लेख गरे।
करिब ४० करोड रुपैयाँ लगानीमा निर्मित होटल स्मार्टमा १७ कोठा, ६०० जना क्षमताको बैंक्वेट हल, १०० जना क्षमताको रेस्टुरेन्ट, क्याफे, थकाली घर, स्विमिङ पुल, साउना, स्टिम, जाकुजी, रूफटप गार्डेन र रेस्टुरेन्टजस्ता सुविधा छन् । होटललाई ३५ वर्षीय युवा व्यवसायी सुरेश कार्की र उनको टिमले सञ्चालनमा ल्याएका हुन् ।











