चारदिने महिला फिल्म महोत्सव काठमाडौँमा

फिल्म । चलचित्र विकास बोर्डको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चारदिने महिला फिल्म महोत्सव सुरु भएको छ। महिला सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजना गरिएको यो महोत्सव २० गते समापन हुनेछ।

महोत्सवमा महिला विषयमा आधारित फिल्म ‘कुमारी’ र ‘जीवन काँडाकी फूल’ प्रदर्शन, अन्तरक्रिया, सम्मान तथा विशेष सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको छ।

महोत्सवअन्तर्गत पहिलो दिन महिला फिल्मकर्मी सशक्तीकरण समितिको परिचयात्मक भिडियो प्रदर्शन, फिल्म ‘कुमारी’का कलाकारहरूसँग अन्तरक्रिया, फिल्म प्रदर्शन, फिल्मबारे अनुभव आदानप्रदान तथा ‘कुमारी’ टिमद्वारा लाइभ पोर्ट्रेट प्रस्तुति सम्पन्न भएको छ।

कार्यक्रममा नेपालकी प्रथम नायिका भुवन चन्दको प्रमुख आतिथ्यता रहेको थियो। साथै चैत्यदेवी सिंह, प्रेम बस्न्यात, विष्णुगोपाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। महोत्सवमा विभिन्न स्रष्टा, कलाकार, निर्देशक तथा सरोकारवालाबीच अनुभव आदानप्रदान र अन्तरक्रियाका कार्यक्रमहरू पनि समावेश गरिएको छ।

फिल्म विकास बोर्डले यो महोत्सवमार्फत नेपाली फिल्म क्षेत्रमा महिलाको योगदान, संघर्ष, सिर्जना र नेतृत्वलाई थप उजागर गर्दै महिला सशक्तीकरणको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको जनाएको छ।

कार्यक्रममा बोल्दै फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली फिल्म क्षेत्रमा महिलाको भूमिका केवल अभिनय वा प्रस्तुतिमा सीमित नभई सिर्जना, नेतृत्व, व्यवस्थापन र सामाजिक रूपान्तरणसम्म फैलिएको उल्लेख गरे। उनले महिला फिल्मकर्मीहरूको क्षमता, योगदान र संघर्षलाई संस्थागत रूपमा सम्मान गर्दै यस्ता महोत्सवले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे। साथै, फिल्म क्षेत्रलाई अझ समावेशी, सशक्त र मर्यादित बनाउन बोर्ड निरन्तर प्रतिबद्ध रहेको बताए।

कमेन्ट गर्नुहोस्