फिल्म । नेपालमा प्रदर्शन स्थगित भएपछि फिल्म ‘महाभोज’को विश्व प्रिमियर अस्ट्रेलियाको पर्थमा हुने भएको छ । आगामी जुन १ मा पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमामा साँझ ६ बजे भव्य प्रिमियर आयोजना हुने पक्का भएको छ । प्रिमियरको व्यवस्थापन रोटेपिङ इन्टरटेन्मेन्ट र स्थानीय आयोजकले गरिरहेका छन् ।
नेपालमा गणतन्त्र दिवसको अवसरमा जेठ १५ मा प्रदर्शन गर्ने तयारी थियो । तर, काठमाडौंलगायत देशभर सम्भावित राजनीतिक अस्थिरता र आन्दोलनको जोखिमका कारण अन्तिम समयमा रिलिज रोकिएको थियो । संवेदनशील परिस्थितिमा सामाजिक कथावस्तु बोकेको यो फिल्म प्रदर्शन गर्न उपयुक्त नहुने निर्माण टिमको निष्कर्ष थियो ।
अस्ट्रेलियाको प्रिमियर भने यथावत् छ । छोटो तयारी समयका कारण प्रमुख कलाकार र निर्देशक यो प्रिमियरमा सहभागी नहुने भए पनि पछि अन्य सहरका शोहरूमा उपस्थित हुने बताइएको छ । दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ले सहकारी ठगीबाट प्रभावित परिवार र समाजमा त्यसको असरलाई मनोरञ्जनात्मक र भावनात्मक ढङ्गले प्रस्तुत गर्छ ।
फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको अभिनय छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा हिमाल कडरियाले निर्माण गरेको यो फिल्मको कथा सामाजिक यथार्थमा आधारित छ ।
नेपालमा रिलिज ढिलाइ भए पनि अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सङ्केत पाइरहेको ‘महाभोज’ले अस्ट्रेलियाबाट सुरु हुने विश्व यात्रामा कस्तो प्रभाव पार्छ भन्नेमा नेपाली फिल्म क्षेत्र उत्साहित छ ।










