फिल्म । टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘द आउटलः दफा २१९’को विदेश अधिकार पनि विक्री हुन थालेको छ । यो फिल्मको जापान अधिकार विक्री भएको निर्माणपक्षले जानकारी दिएको छ । अन्य देशका वितरक तथा प्रदर्शकले फिल्म बारे चासो लिएको निर्माण पक्षले जनाएका छन् । नायक सुशिल श्रेष्ठको गेटअप, उनको एङ्ग्री अवतार, फिल्मको मेकिङको खुलेरै तारिफ भइरहेको छ ।
जापानमा फिल्म वितरण गरिरहेको यूएनए इन्टरटेन्मेन्टले यो फिल्म खरिद गरेको हो । यो कम्पनीका प्रमुख उज्ज्वल गुरागाँइले फिल्मको टिजर सार्वजनिक भएपछि दर्शकमा फिल्मलाई लिएर उत्साह बढेको बताए । यसैले, आफ्नो कम्पनीले फिल्मको जापान अधिकार खरिद गरेको उनको भनाई छ ।
फिल्म ‘द आउटलः दफा २१९’को कथावस्तु केही पनि खुलेको छैन । तर, सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारले अभिनय गरेको फिल्मबाट दर्शकले उच्च अपेक्षा गरेका छन् ।
असोजको ३ गते संविधान दिवसको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । अमित अग्रहरि निर्माता रहेको फिल्मलाई साहिल खानले सम्पादन गरेका हुन् ।











