फिल्म । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘मारुनी’ ले प्रतिक्रिया राम्रो बटुलिरहेको छ । फिल्म हेर्ने दर्शक र सेलिब्रेटीले यसलाई रुचाएका छन् । विषयवस्तुसँगै कलाकारको काम राम्रो रहेको प्रतिक्रिया फिल्मले पाउदै गर्दा आयोजित सेलिब्रेटी शोमा पनि यस्तै भयो । फिल्म हेर्ने अधिकांसले तारिफ गरे । उनीहरुले मिडियासमू तारिफ गरे नै साथै सामाजिक सञ्जालमा समेत दर्शकलाई फिल्म हेरिदिन आग्रह गरेका छन् ।

फिल्म हेरिसकेपछी साम्राज्ञी राज्यलक्ष्मी शाहको तारिफ भयो । उनले यसपटक बोल्डनेस भन्दा पनि क्यारेक्टर नै बोल्ड रहेको बताउदै आएकी थिइन् । यसलाई सेलेब्स तथा दर्शकले पनि स्वीकारेका छन् । निर्देशक नवल नेपालले उनीबाट उत्कृष्ट काम निकालेका छन् भने, उनले भने फरक कथा आएको खण्डमा काम गर्न सक्छु भनेर पुष्टी गरेकी छिन् ।

नयाँ अनुहार रेविका गुरुङले पनि सम्भावना देखाएकी छिन् । फिल्ममा पुष्प खड्काले पनि आफुलाई दमदार रुपमै प्रस्तुत गरेका छन् । फिल्म हेर्ने आइपुगेका पल शाहले यसको तारिफ गरे । ‘फिल्म हेर्दा निकै मज्जा आयो’ उनले भने ‘फिल्मको कथा र कलाकारको अभिनयले मन तान्यो ।’ यसैगरी वर्षा राउतले पनि कथाले मन छोएको बताइन । ‘फिल्मको कथा र अभिनय त राम्रो छ नै साथै सस्पेन्स र ट्विस्टले झनै रोचक बनाएको छ’ वर्षाले भनिन् ।

नवल निर्देशित फिल्मको विषयवस्तुलाई दर्शकले रुचाएका छन् । उनले स्टारडम भन्दा पनि कन्टेनमा फोकस गरेका छन् । फिल्ममा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री सह-निर्मातामा छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् । रेविका गुरुङ, शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई मित्र डि.गुरुङले सम्पादन गरेका हुन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।












