फिल्म । आगामी जेठ ८ गतेदेखि प्रदर्शन हुने नेपाली फिल्म ‘मितज्यू’ को ट्रेलर सार्वजनिक गरिएको छ । जीएम मुभिज प्रोडक्सन को ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलर सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र सौगात मल्लले मितेरी साइनो लगाएका पात्रको भूमिका निर्वाह गरेका छन् । उनीहरू गाउँमा आएको नयाँ सडकमा गाडी चलाउने चालकका रूपमा देखिएका छन् । यात्रुलाई छिटो गन्तव्यमा पुर्याउने प्रतिस्पर्धाका बीच उनीहरूबीचको मित्रता, द्वन्द्व र भावनात्मक सम्बन्धलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।
ट्रेलरमा सौगात मल्ल मित दयाहाङको घरमा भाले बोकेर पुग्ने दृश्यलाई रोचक ढंगले देखाइएको छ । त्यहाँ मितिनीको भूमिकामा रहेकी तेरिया फौजा मगरले गाउँले शैलीमा संवाद बोलेकी छन् । ट्रेलरमा मितेरी साइनोको सामाजिक र सांस्कृतिक पक्षलाई समेत प्रस्तुत गरिएको छ । हात हेर्ने ज्योतिषीले मितेरी सम्बन्धलाई हल्का रूपमा नलिन दिएको सुझाव, गाउँको बाटोमा गाडी कुदाउने प्रतिस्पर्धा तथा मित्रताभित्रको संघर्षलाई फिल्मले मुख्य कथावस्तु बनाएको देखिन्छ ।
निर्माता जनक घर्ती मगर रहेको फिल्म ग्रामीण परिवेशमा आधारित छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगरसँगै पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुषा राई र खड्गबहादुर पुन मगर लगायत कलाकारको अभिनय रहेको छ ।
यसै फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् । साथै, फिल्मको एक गीतमा रुषा न्यौपाने को विशेष नृत्य पनि समावेश गरिएको छ ।अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन र श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । गीतमा श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्लको स्वर रहेको छ । फिल्मका मुख्य सहायक निर्देशक फिरोज खड्का हुन् ।












