बिटी कान्छाको सिरिज ‘हरामी’ मा आना

ओटीटी । आफ्नो युट्युब च्यानलमार्फत् नेपाली चलचित्रको रमाइलो समीक्षा गर्दै आएका बिटी कान्छा अर्थात् विश्वास तिमल्सेनाले आफ्नो लेखन तथा निर्देशनमा वेब सिरिज ‘हरामी’ तयार गरेका छन् । हरि, राहुल र मिलन नामका तीन चरित्रको पहिलो अक्षरमा आधारित भई ‘हरामी’ नामाङ्कन गरिएको उक्त सिरिजको प्रचारप्रसारका लागि प्रमोसनल गीत समेत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द, सङ्गीत र गायन साइलाको रहेको छ । यसको सङ्गीत निर्माण समिरन राणाले गरेका हुन् ।

मन प्रोडक्सनले निर्माण गरेको उक्त सिरिज सिरिजमा निकुन श्रेष्ठ, ऋषिकेष बस्याल र सशाङ्क बोहरा मुख्य भूमिकामा छन् । तीन साथीको वरिपरि केन्द्रित रहेको सिरिजमा आना शर्मा, घनुभाइ जोशी, रक्षा थापा, गौमाया गुरुङ, प्रीतिशा अधिकारी आदिको भूमिका रहेको छ । उक्त सिरिजको एक एपिसोडमा निर्देशक निश्चल बस्नेत समेत देखिने बताईएको छ ।

पछिल्लो समय ‘कमेडी दरबार’ मा विभिन्न भूमिकामा देखिने बिटी कान्छाले सिरिजमा पनि विभिन्न विषयलाई प्रस्तुत गर्ने जमर्को गरेका छन् । ‘हामीले प्रसारित पहिलो भागबाट राम्रो समीक्षा पाएका छौँ । कुल पाँच भागको एपिसोड रहने सिरिजमा फरक फरक थिममा रहेर एपिसोड तयार गरेका छौँ’, बिटी कान्छाले भने ।

सिरिजको प्रसारण भइसकेको पहिलो भागमा उनले साथीहरुको दबाबले लिने निर्णयलाई हास्य रसमा प्रस्तुत गरेका छन् । प्रोडक्सन क्वालिटी र प्रस्तुतिका कारणले सिरिजको पहिलो भागले राम्रै दर्शकसँगै उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । कुल पाँच भागको उक्त सिरिज बिटी कान्छाकै युट्युब च्यानलमार्फत सार्वजनिक भइरहेको छ ।

कमेन्ट गर्नुहोस्