हरिवंशको नयाँ गीत ‘एक केटा मादलु पड्का’ सार्वजनिक

सङ्गीत । हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आफ्नै शब्द, संगीत र स्वरमा उनले रमाइलो शैलीको ‘ए केटा मादलु पड्का’ बोलको गीतलाई भिडियो सहित सार्वजनिक गरेका छन् । गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् ।

हरिवंशले भने, ‘दुइ महिनाअघि चितवनको एउटा समारोहमा पुग्दा बाहिर मान्छेहरु गीत गाउँदै उफ्री उफ्री नाचिरहेको देखेँ । त्यहीबेला अचानक मेरो दिमागमा एउटा लय फुर्‍यो । हत्तपत्त कोठामा गएँ । मोबाइलमा रेकर्ड गरेँ । लयसँगै शब्द पनि आयो– ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का । तैपनि पछि रेकर्ड गरौला भनेर बसेको थिएँ । यत्तिकैमा एक दिन सरोज भाइ (ओली)लाई यो गीतको शब्द र लय कस्तो छ भनेर सुनाएँ । भाइलाई मनपरेछ । रेकर्ड गरिहालौं भने । एरेन्जर श्यामश्वेत रसाइली लिएर गइहाले । श्यामश्वेत भाइले पनि ‘यो रमाइलो छ, चड्किन्छ’ भनेपछि गीतले यो स्वरुप पायो ।’

गीतले खासगरी गायन र नृत्यमा लागेका मान्छेहरुको भाव बोकेको हरिवंश बताउँछन् । उनी भन्छन्, ‘यो विशुद्ध मान्छेलाई नाच्न मन लाग्ने गीत हो । यसमा नाच्ने गाउँने मान्छेले आफ्नो पेशा प्रति गर्व गरेको शब्द छ । गीत फास्ट ट्रयाकमा भएकाले सांस्कृतिक कार्यक्रम, बिहे ब्रतबन्ध लगायत समारोहतिर बज्छ भन्ने लागेको छ ।’ यद्यपी यो गीतमा चुनावमा हुने पैसा बाड्ने विकृतीलाई व्व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र हरिवंशसँगै यसपटक गायक तथा निर्देशक सरोज ओली स्वयम्ले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो निर्देशन गम्भिर विष्टले गरेका छन् ।

कमेन्ट गर्नुहोस्