फिल्म । म्युजिकल लभ स्टोरीमा बनेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजानिक ‘दुखको काँडा’ बोलको गीतमा पल शाह र पुजा शर्मा फिचर्ड छन् । फिल्म यिनकै वरपर घुमेको छ । गीतमा पुजाको माया आभाष गरिरहेका पलको भावनालाई प्रस्तुत गरिएको छ । पलले माया देखाउदै छन् भने पुजाले महसुस गर्दैछिन् । संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतमा देवल भण्डारीको शब्द र सनिष श्रेष्ठको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई आकर्षक बनाउन निर्माण टिमले कुनै कसर बाँकी राखेको छैन ।
सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा पल र पुजासंगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । पूजा र सुदर्शन फिल्मका निर्माता हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् । फागुन २३ गतेबाट प्रदर्शनमा आउने ‘म यस्तो गीत गाउँछु २’ म्युजिकल लभ स्टोरी भएकाले गीतसंगीतलाई नै दर्शक माँझ ल्याइएको सुदर्शन बताउछन् । ‘फिल्मको गीतसंगीतलाई नै पहिला दर्शक र श्रोता माँझ ल्याउदैछौ’ उनले भने ,’ट्रेलर भने केहि समयपछि आउनेछ ।’ सिक्वेलमा दर्शकको महत्वकांक्षा बढ्ने भएकाले अझै जिम्मेवारी थपिएको सुदर्शनको बुझाइ छ ।