‘द राइज अफ साम्राज्य’मा जोडिए सुशील

फिल्म । निर्देशक सौरभ चौधरीको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा कलाकारहरूको लाइनअप पूरा भएको छ। सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठपछि अभिनेता सुशील श्रेष्ठ पनि फिल्ममा अनुबन्धित भएका छन् ।

सुशीलको प्रवेशसँगै फिल्मका मुख्य कलाकारको लाइनअप पूरा भएको निर्देशक चौधरीले जानकारी दिए । फिल्मको छायांकन मंगलबारदेखि विराटनगरबाट सुरु गर्ने तयारी गरिएको छ ।

७० दिनको छायांकन तालिका राखिएको फिल्मको दसैँका लागि भने एक साताको विश्राम गरिने निर्देशक चौधरीले बताए । उनका अनुसार फिल्मको सम्पूर्ण छायांकन कोशी प्रदेशका विभिन्न स्थानमा हुनेछ ।

चर्चित उपन्यास ‘कर्नाली ब्लुज’का लेखक बुद्धिसागरको लेखन रहेको फिल्ममा प्रवेश चौधरी र निला देव निर्माता छन् । विश्वास बस्नेत सह-निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्। मानकृष्ण महर्जनको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मलाई आगामी वर्षको दसैँको छेकोमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

निर्देशक चौधरीका अनुसार ‘द राइज अफ साम्राज्य’ उनको अहिलेसम्मकै ठूलो स्केलको एक्सन ड्रामा हुनेछ । फिल्मको कथा, निर्माण शैली र प्रस्तुतिमा नयाँपन ल्याउने प्रयास गरिएको उनले बताए। फिल्ममा विभिन्न कालखण्डको कथा समेटिएको निर्देशक चौधरीको भनाइ छ । ‘अगस्त्य’मार्फत एक्सन विधामा सम्भावना देखाएका चौधरीले ‘द राइज अफ साम्राज्य’लाई आफ्नो महत्वाकांक्षी प्रोजेक्टका रूपमा लिएका छन्।

कमेन्ट गर्नुहोस्