फिल्म । ‘सानो मन’ मार्फत निर्देशनमा डेब्यु गरेका सुयोग गुरुङ निर्देशित दोस्रो फिल्म ‘फर्की फर्की’ जेष्ठ १० प्रदर्शन हुँदैछ । अनमोल केसी अभिनित भएकाले फिल्मको चर्चा बढिरहेको छ । युवापुस्ता लक्षित फिल्म बनाउने सुयोग र युवाका स्टार अनमोलको समिश्रणले बक्सअफिसमा राम्रो रिजल्ट देखाउने अपेक्षा गरिएको छ ।
‘टाइम लुप’ को कथा रहेको फिल्ममा अनमोलले एक फाइनान्समा काम गर्ने युवाको भूमिका निर्वाह गरेका छन् । ‘म्याडी’ को भूमिकामा रहेका अनमोलले एउटा गल्ती गरेपछि सोही समयमा घुमीरहन्छन । रमकमसँगै दर्शकलाई नयाँपन दिन यो कन्सेप्ट प्रयोग गरिएको सुयोगले बताए ।
‘यो सम्पूर्ण वर्गलाई लक्षित गरेर तयार गरिएको फिल्म हो । यद्यपि यसको टार्गेट दर्शक युवा नै हुन् । फिल्म भनेको मनोरञ्जन हो । त्यसलाई ध्यानमा राखेर स्क्रिप्ट तयार गरेको हुँ’ सुयोगले भने । उनले विश्वमा ‘टाइम लुप’को कथा एकदमै चर्चित भइरहेको सन्दर्भमा नेपालमा सुरुआत गरेको बताए ।
‘फिल्म भित्र लभस्टोरी मात्र नभएर, एउटा बलियो सन्देश छ । सरप्राइज प्याकेज प्रशस्त छन् । अहिले त हामीले केही प्रतिशत मात्रै दर्शकलाई हलसम्म तान्न सार्वजनिक गरेका हौं । धेरै कुरा त फिल्म हेरेपछि मात्रै थाहा हुन्छ’, सुयोगले भने ।
यो फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह-निर्माताको रुपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन् ।यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । फिल्म ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् ।
रोमन बज्राचार्य र नरेन लिम्बु फिल्मका संगीतकार हुन् । फिल्ममा अष्ट महर्जनको एक्सन छ । फिल्म टाइम लुपको कथालाई उठान गरेको छ । सार्वजनिक ट्रेलर र गीतसङ्गीतको लोकप्रियतालाई मापन गर्दा जेठको १० गते बक्स अफिसमा यो फिल्मले राम्रो ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।