‘सेप अफ मोमो’ प्रदर्शन हुँदै

फिल्म । सिक्किमकी युवा फिल्म निर्देशक त्रिवेणी राईको डेब्यु फिचर फिल्म ‘सेप अफ मोमो’ शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ । भारतीय अभिनेता तथा निर्माता राना दगुबत्ती को स्पिरिट मिडियाले फिल्मको प्रदर्शनमा सहयोग गरिरहेको छ । फिल्ममा जोया अख्तर, रिमा काग्ती र पायल कपाडिया कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

उक्त फिल्मले सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा एउटै परिवारका तीन पुस्ताका महिलाको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत र पहिचानको कथा प्रस्तुत गर्छ । फिल्मले ‘घर’ भन्ने भावनात्मक अवधारणालाई समेत गहिराइमा नियाल्ने प्रयास गरेको बताइएको छ । फिल्ममा स्वर्गीय भानु माया राई, गौमाया गुरुङ, पशुपति राई, राहुल मुखिया र श्यामाश्री शेर्पाको अभिनय रहेको छ । निर्देशनसँगै त्रिवेणी राईले किस्ले राईसँग मिलेर पटकथा लेखेकी हुन् ।

फिल्मको छायांकन अर्चना घाङ्ग्रेकरले गरेकी छन् भने सम्पादन अनिल आलायम र किस्ले राईले गरेका छन् । ध्वनि डिजाइन अंकिता पुर्कायस्थाको रहेको छ ।

निर्देशक त्रिवेणी राईले ‘सेप अफ मोमो’ आफ्नो व्यक्तिगत अनुभव र वरपरका महिलाहरूको जीवनबाट प्रेरित भएर बनाइएको बताएकी छन् । उनका अनुसार स्वतन्त्र फिल्मलाई हलसम्म ल्याउन चुनौतीपूर्ण भए पनि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुनु टोलीका लागि महत्वपूर्ण उपलब्धि हो ।

कार्यकारी निर्माता जोया अख्तरले फिल्मले सिक्किमेली महिलाको जीवनलाई आत्मीय र प्रामाणिक ढंगले प्रस्तुत गरेको बताएकी छन् । त्यस्तै रिमा काग्तीले नयाँ क्षेत्र र नयाँ पुस्ताका फिल्मकर्मीबाट भारतीय स्वतन्त्र फिल्म क्षेत्रमा रोचक काम भइरहेको उल्लेख गर्दै ‘सेप अफ मोमो’ त्यसै यात्राको हिस्सा बनेको प्रतिक्रिया दिएकी छन् ।

कमेन्ट गर्नुहोस्