फिल्म । गायिका झुमा लिम्बु र उनको रैथाने ब्याण्डले आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जारी २’को सहकार्यमा ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने भएको छ । कन्सर्टको सुरुवात भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट हुनेछ । उक्त अवसरमा फिल्म ‘जारी २’को टिमले च्याब्रुङ नाच प्रस्तुत गर्नेछ । ‘रैथाने घुमफिर’ कन्सर्टमार्फत गायिका लिम्बुले नेपालका विभिन्न १० सहरमा प्रस्तुति दिनेछिन् ।
कन्सर्टमा उनको ब्याण्डको एकल प्रस्तुतिका साथै आयोजना हुने स्थानको स्थानीय कला, संस्कृति र गीत–सङ्गीतलाई विशेष प्राथमिकता दिइनेछ । यो साङ्गीतिक यात्राले नेपालको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । विभिन्न सहर र गाउँमा पुगेर हाक्पारे, पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनीजस्ता लोकसङ्गीत र नृत्यलाई केन्द्रमा राखी प्रस्तुति गरिनेछ ।
‘लोकसङ्गीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो नेपालको मौलिक सांस्कृतिक जीवनशैली, इतिहास र सामुदायिक एकताको प्रतिविम्ब हो’, गायिका लिम्बुले भनिन्, ‘यो यात्राले संस्कृति र सङ्गीतलाई नयाँ पुस्तासम्म पुर्याउने र गाउँ–सहरको सांस्कृतिक सम्बन्धलाई जोड्ने पुलको रूपमा काम गर्नेछ ।’
यो वर्ष ‘रैथाने घुमफिर’ नेपालमा मात्र आयोजना हुनेछ भने अर्को वर्ष यसलाई विदेशमा समेत विस्तार गर्ने योजना गायिका लिम्बुको छ । प्रत्येक प्रस्तुतिमा स्थानीय कलाकार, वाद्यवाधन र संस्कृतिको सम्मान गर्दै सांस्कृतिक विविधता प्रदर्शन गरिनेछ । कन्सर्टका अन्य कार्यक्रम क्रमशः सार्वजनिक गरिने बताइएको छ ।











