फिल्म । पल शाह र पूजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण टिमले बिहीवार ‘कसम कसम’ बोलेको डान्सिङ गीत सार्वजनिक गरेको हो । ‘दुःखको काँडा’ र ‘तिम्रो घरको वरिपरि’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा सार्वजनिक तेस्रो गीतमा फिल्मका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मासँगै मोडल अलिशा शर्मा फिचर्ड छन् । सुगम पोखरेलको स्वर, दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
गीतलाई लिएर पूजा निकै उत्साहित छिन् । ‘मेरो लक्की चार्म सुगम दाईले गीतमा स्वर दिनु भएको छ त्यसैले पनि निकै उत्साहित छु’ उनले भनिन् । गीतसंगीतमै आधारित फिल्म भएकाले गीत कथाअनुसार रखिएको उनले जनाईन । सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रतिक्षित फिल्म मध्यको एक हो । आउँदो फागुन २३ गते प्रदर्शन हुने फिल्मलाई सुदर्शन र पूजाले मिलेर निर्माण गरेका हुन् ।
‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजासंगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेख्न रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ भने यसलाई सौरभ लामाले खिचेका हुन् । फिल्ममा समावेश पाँचवटै गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत छ ।