देश। रचनात्मक सहरका लागि तोकिएका सात क्षेत्रमध्ये काठमाडौँ महानगरपालिकाले चलचित्र विधालाई छानेको छ । युसीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, सङ्गीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने प्रबन्ध रहेकोमा महानगरको छनौटमा चलचित्र विधा परेको हो।
‘सबै विधा महत्वपूर्ण र काठमाडौँसँग सम्बन्धित छन् । तर अन्य विधा छान्दा एउटै क्षेत्रमा मात्र सीमित हुनु पर्ने भयो । चलचित्रबाट सबै विधामा काम गर्न सकिन्छ’, महानगरकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो। छानिएको बिषयमा सरोकारवालाबाट पृष्ठपोषण लिन शुक्रबार आयोजना गरिएको कार्यक्रममा उपप्रमुख डंगोलले दिगो सहरी विकासका लागि अन्तर्राष्ट्रिय सहयोगका विषयमा जानकारी दिदै यसबाट विषयको प्रवर्द्धनसँगै अभिलेख प्राप्त हुने उल्लेख गर्नुभयो ।
रचनात्मक सहरका लागि महानगरको सम्पदा तथा पर्यटन विभागले अग्रसरता लिएको उपनिर्देशक सृजु प्रधानले जानकारी दिनुभयो । ‘हाम्रो उदेश्यलाई प्राप्त गर्ने विधा चलचित्र भएकाले छानेका हौँ। यस विधाबाट धेरै काम गर्न सकिन्छ’, उपनिर्देशक प्रधानले भन्नुभयो। रचनात्मक सहरमा आवद्ध हुन पालिकाबाट निर्णय भएपछि व्यवस्थापन केन्द्र स्थापना गर्ने नियम छ । यसबाट सरोकारवालाको पहिचान गरिन्छ । सरोकारवाला बिच परामर्श समूह निर्माण गरिन्छ । विषय र रचनात्मक सम्पत्तिको नक्साङ्कन लगायत काम गरिन्छ ।
काठमाडौँको जनजीवन, यहाँको भूगोल, बस्ती र सांस्कृतिक सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रुचीकर कथाहरु छन् । भेषभुषा छ । खानपान छ । काठमाडौँ सहर भन्नेवित्तिकै मनमा आउने पहिलो चित्रलाई चलचित्रमार्फत प्रवद्धन गर्नु यसको मुख्य उदेश्य हो। कार्यक्रमका सहभागीहरुमार्फत प्राप्त सुझावका आधारमा चार बर्षे कार्ययोजना र रणनीतिको मस्यौदा तयार पारिन्छ । विषयसँग सम्बन्धित राष्ट्रिय व्यवसायिक सङ्घहरुबाट समर्थन प्राप्त गरेपछि यो प्रस्ताव युनेस्कोको राष्ट्रिय आयोगबाट अनुमोदन हुन्छ ।
फरक दृष्टिकोण, अर्थव्यवस्था र संस्कृति भएका भिन्न भिन्न सहरलाईलाई रचनात्मक सहरको सञ्जालमा जोडेर विकासको साझा दृष्टिकोण बनाउने रचनात्मक सहरको अवधारणा हो । एउटा रचनात्मक सहरमा समावेशी समाज, सृजनात्मक अर्थतन्त्र, मानव विकास, सामाजिक सद्भाव, प्राविधिक आविष्कार, वैज्ञानिक विकास दृष्टिकोण जस्ता विषय चलायमान हुन्छन् । यसबाट सहरहरुलाई अन्तर्राष्ट्रियस्तरबाट बलियो सहयोग प्राप्त हुने, विकास योजना तथा नीतिमा संस्कृति एकीकृत हुने, सांस्कृतिक र रचनात्मक उद्योगलाई बलियो बनाउने उद्देश्य राखिएको छ ।
कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार अहिले यस सञ्जालमा विश्वभरका तीन सय सहर जोडिएका छन् । दक्षिण एशियाली मुलुकहरुमध्ये भारतको जयपुर र श्रीनगर शिल्प र लोक कलाको सहर, वाराणसी र चेन्नई सङ्गीत सहर, लाहोर साहित्यको सहर र मुम्बई चलचित्रको सहरका रुपमा विकास हुँदैछन् ।













