‘मितज्यू’ मा सौगात र दयाको जोडी

फिल्म । आगामी जेठ ८ बाट प्रदर्शन हुने फिल्म ‘मितज्यू’मा अभिनेता दयाहाङ राई र सौगात मल्ल बीचको टकराव मुख्य आकर्षणका रूपमा प्रस्तुत हुने भएको छ । नेपाली फिल्म उद्योगका चर्चित यी दुई कलाकार एकसाथ पर्दामा देखिँदा दर्शकमाझ उत्साह र अपेक्षा बढ्ने गरेको छ ।

फिल्ममा दयाहाङ र सौगात ‘मित’ अर्थात् विशेष मित्रको भूमिकामा देखिएका छन् । कथामा एक युवतीको प्रवेश र गाडीको रुटलाई लिएर उत्पन्न हुने द्वन्द्वले उनीहरूबीचको सम्बन्धमा उतारचढाव ल्याउने देखाइएको छ ।

निर्देशक अनिल बुढा मगरका अनुसार फिल्मको मुख्य कथा नै यी दुई पात्रबीचको मतभेद र संघर्षमा केन्द्रित छ । उनले दयाहाङ र सौगात दुवै फिल्मका प्रमुख पात्र भए पनि उनीहरूबीचको द्वन्द्वले दर्शकलाई बाँधेर राख्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली समाजमा मितेरी साइनोलाई निकै पवित्र मानिन्छ । मित भएपछि एकअर्काको नाम लिएर बोलाउनसमेत नहुने परम्परा रहेको अवस्थामा ‘मितज्यू’मा भने दुई मितबीचको झगडा र त्यसको परिणामलाई रोचक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।

दयाहाङ र सौगात यसअघि कबड्डी र लुट जस्ता सफल फिल्ममा पनि टकरावपूर्ण भूमिकामा देखिएका थिए । ती फिल्मले दर्शकमाझ राम्रो सफलता पाएका कारण ‘मितज्यू’प्रति पनि अपेक्षा बढेको छ । फिल्म आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा दयाहाङ र सौगातसँगै तेरिया फौजा मगर मुख्य भूमिकामा छिन् ।

यसका साथै खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछाने लगायत कलाकारको अभिनय रहेको छ । जनक घर्ती मगर निर्मित फिल्ममा लोकेश बज्राचार्य को सम्पादन तथा शिशिर बिशंखे को सिनेमाटोग्राफी रहेको छ । निर्माण टिमका अनुसार नेपाली गाउँको संस्कार, संस्कृति, रहनसहन र मित्रताको कथामा आधारित फिल्मले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।

कमेन्ट गर्नुहोस्