साउन २२ मा ‘कमला मिस’

फिल्म । नेपाली फिल्म क्षेत्रका अनुभवी निर्देशक निर शाहले नयाँ फिल्म ‘कमला मिस’मार्फत निर्देशनमा पुनः सशक्त पुनरागमन गरेका छन् । आगामी साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढेको छ ।

सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई विशेष मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ, जसले फिल्मको कथावस्तु गहिरो, रहस्यमय र संवेदनशील हुने संकेत गरेको छ । निर्माण पक्षले फिल्मको अफिसियल टिजर यही बिहीबार सार्वजनिक गर्ने जनाएको छ ।

मनोवैज्ञानिक कथामा आधारित ‘कमला मिस’मा निर्देशक निर शाह स्वयंको अभिनयसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् । विजय मल्लको कथामा आधारित फिल्मको पटकथा तथा संवाद निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।

फिल्ममा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा रहेका छन् ।

करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् । त्यसैले ‘कमला मिस’लाई उनको अनुभव र सिर्जनशीलताको नयाँ अध्यायका रूपमा हेरिएको छ । एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने यस फिल्मले नेपाली दर्शकमाझ फरक स्वादको मनोवैज्ञानिक कथा प्रस्तुत गर्ने विश्वास निर्माण पक्षले लिएको छ ।

कमेन्ट गर्नुहोस्