फिल्म । चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । बोर्डका अध्यक्ष दिनेश डी.सी. र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा आज आयोजित कार्यक्रममा यो द्विपक्षीय सम्झौता भएको हो ।
यो सम्झौताअन्तर्गत दुवै निकायले लागूऔषध विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जनचेतना फैलाउने र युवा पुस्तालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउने लक्ष्य राखेको जनाइएको छ । चलचित्रको माध्यमबाट लागूऔषधको दुष्प्रभावबारे जनचेतना फैलाउने, यसलाई बढावा दिने खालका कुनै पनि चलचित्र, विज्ञापन वा सामाजिक सन्देशलाई निरुत्साहित गरिने बताईएको छ ।
अध्यक्ष डिसीको अनुसार लागूऔषध न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक चलचित्र तथा भिडियो सामग्री निर्माण तथा सिनेमा हलहरूमा प्रसारण गर्ने, विद्यालय तथा विश्वविद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्ने र सामुदायिकस्तरमा लागूऔषधविरुद्ध अभियान सञ्चालन गर्ने पहल गरिने छ ।










