‘आ बाट आमा’को गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज

फिल्म । यही माघ १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आ बाट आमा’को नयाँ गीत सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर निर्माण टिमले ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत रिलिज गरेको हो। परदेशिन लाग्दाको पीडा र भावनालाई प्रस्तुत गर्ने गीतको भिडियोमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तलगायत कलाकारलाई देख्न सकिन्छ। गीतको भावअनुसार कलाकारहरूको अभिनय स्वाभाविक र सुहाउँदो देखिन्छ।

गीतमा किरण परियारको स्वर रहेको छ भने शब्द तथा संगीत अभि सुनारले दिएका हुन्। गीतको एरेन्ज विशाल निरौलाले गरेका छन्। आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’मा पल शाह र विपना थापासँगै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ। फिल्मको प्रचारप्रसारमा यतिबेला पल शाह, विपना थापासहित सम्पूर्ण निर्माण टिम सक्रिय रूपमा जुटिरहेको छ।

चन्द्र पन्तको निर्देशनमा बनेको यस फिल्मको कथा तथा पटकथा निर्देशक स्वयंले लेखेका हुन्। फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ। गायनमा रबि ओड, किरण परियार र नेपाली भर्सनमा यमन श्रेष्ठको स्वर सुन्न सकिन्छ। गीतका भिडियोमा गम्भीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ।

नवराज उप्रेतीको डीओपी रहेको फिल्ममा संवाद अभिमन्यू निरवीले लेखेका हुन्, जसमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्य छ। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।

फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्। यसअघि सार्वजनिक गरिएको गीत ‘लैजा खबर ए हावा’ दर्शकमाझ निकै चर्चामा रहँदै आएको छ। उक्त गीतलाई नेपाली भर्सनमा लोकप्रिय भएपछि निर्माण पक्षले नेवारी भर्सनमा पनि रिलिज गरेको थियो, जसको नेवारी अनुवाद वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गरेका हुन् भने स्वर उनका छोरा यमन श्रेष्ठले दिएका छन्।

फिल्म ‘आ बाट आमा’को नेपालभित्रको वितरण अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

कमेन्ट गर्नुहोस्