दर्शकले रुचाए ‘जारी २ : सङ अफ च्याब्रुङ’ को ट्रेलर

फिल्म । यस वर्षकै प्रतिक्षित फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ को ट्रेलरले दर्शकमाझ उच्च उत्साह निर्माण गरेको छ । युट्युबमा सार्वजनिक भएको दुई दिनमै १० लाखभन्दा बढी भ्युज प्राप्त गरेको यो ट्रेलरले राम्रो प्रतिक्रिया पनि पाइरहेको छ ।

दयाहाङ राई र मिरुना मगरको जोडी सुहाएको र विजय बरालले विशेष उत्साह थपेको भन्ने टिप्पणीहरू ट्रेलरलाई प्राप्त छन् । फिल्मले लिम्बु समुदायको सांस्कृतिक पहिचान र यसको सेरोफेरोमा सामाजिक तथा पारिवारिक उकालो-ओरालोमा केन्द्रित कथा प्रस्तुत गर्ने संकेत गरेको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यो फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बरालको मुख्य भूमिका छ । यिनीहरूका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई यस वर्षकै उच्च व्यापार गर्ने श्रेणीमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्