‘के घर के डेरा: घर नं. २’ को नयाँ गीत ‘ढुंगा देउता भयो’ सार्वजनिक

फिल्म । प्रदर्शनरत फिल्म ‘के घर के डेरा: घर नं. २’ को नयाँ स्याड भर्सनको गीत ‘ढुङ्गा देउता भयो’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले यो गीत सार्वजनिक गरेको हो, जसले फिल्मको मुख्य पात्रको भावनात्मक थिमलाई प्रस्तुत गर्छ । गीतले अप्रत्यासित रूपमा जीवनमा सहयोगी बनेर आउने व्यक्तिको कथालाई व्यक्त गर्ने प्रयास गरेको छ ।

गीतमा केतेन क्षेत्रीको स्वर छ, भने शब्द साहित्यकार बुद्धिसागरको र सङ्गीत सुवास भुसालको छ । भिडियोमा फिल्मका मुख्य कलाकारहरूको अभिनयसहित फिल्मका फुटेजहरू समावेश छन् । जेठ २ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले सकारात्मक प्रतिक्रिया र वर्ड अफ माउथ पाइरहेको निर्माण पक्षले जनाएको छ ।

दर्शकले फिल्मको कथा र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरिरहेका छन् । कथालाई बुद्धिसागरले लेखेका हुन्, भने दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यो फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सृजना नापित, संजोग रसाइली, रुबिना घिमिरे र सुरज विष्टलगायतका कलाकारहरूको अभिनय छ ।

‘के घर के डेरा: घर नं. २’ एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको छायांकन कृष्णबहादुर थापाले गरेका छन्, भने कार्यकारी निर्माता युवराज कार्की छन् । निर्माताहरूमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् । हाल प्रदर्शनरत यो फिल्मले दर्शकको मन जितिरहेको छ र नयाँ गीतले पनि दर्शकमाझ उत्साह थपेको छ ।

कमेन्ट गर्नुहोस्