‘नियत खराब होइन, नियतिको कारण चुकें’ : निर्माता थापा

फिल्म। निर्माण घोषणा भएदेखि नै विविध कारणले ‘प्रसाद २’ मा कठिनाई देखिएको छ। निर्देशक परिवर्तन, कलाकार परिवर्तन, छायांकन रद्द लगायतको विविध समस्या पार गरेको फिल्म रिलिजको संघारमा छ। यद्यपी फिल्मसँग जोडिएको आर्थिक पक्षले समस्या निम्त्याउने भएपछि निर्माता शुभाष थापाले सहज प्रदर्शनका लागि सामाजिक सञ्जालमार्फत नै आग्रह गरेका छन्।

उनले माघ मै चलचित्र रिलिज गर्ने तयारीको कारण तिर्नुपर्ने रकम माघपछिको भाखामा तिर्ने वचनवद्धता प्रकट गरेको बारे जानकारी दिदै समयमा रिलिज हुन नसक्दा बचनवद्धतामा चुकेँको स्वीकार गरेकाछन्। ‘रिलिजको सम्पूर्ण तयारीमा रहेको हुँदा चलचित्र प्रदर्शनमा सहयोग गरिदिनु हुन सबैमा अनुरोध गर्दछु । मेरो नियत खराब होइन । नियतिको कारण मैले वचन पुरा गर्न नसकेको हुँ’, निर्माता थापाले उल्लेख गरेकाछन्,’चलचित्र रिलिजपछि सबै रकम पहिला तिर्नुपर्नेलाई तिरेर मात्र म आफ्नो भागको रकम लिनेछु । हलबाट आउने रकम सबै चलचित्रसँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहीबाट तिर्नुपर्नेलाई दिई बाँकी रहेको रकम मलाई वुझाउने गरी गरेमा मेरो मन्जुरी छ । यो चलचित्रमा धेरैको मिहिनेत छ । तसर्थ, सबै मिलेर चलचित्र रिलिज हुने वातावरण बनाई सबैको रकम चलचित्र प्रदर्शनपछि प्राप्त हुने गरि गरिदिन हुन सबै सरोकारवाला संघ संस्था, व्यक्तिमा आग्रह गर्दछु ।’

सबैसँग सहयोगको अपेक्षा गर्दै आफ्नो नियत गलत नभएको समेत उल्लेख गरेका थापालाई देशसँगै विदेशमा समेत चैत २४ मै प्रदर्शन गर्नुपर्ने छ। सुदर्शन थापाको निर्देशनमा तयार भएको यो फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । सुदर्शन बस्नेतले निर्माण गरेका फिल्ममा सुशिल पौडेलको लेखन रहेको छ ।

प्राविधिकदेखि कलाकारसम्मको पैसा नतिरेपछि निर्माता सुवास थापाविरुद्ध निर्माता संघदेखि चलचित्र विकास बोर्डसम्म मुद्दा परेका छन् । सुटिङ भएको कास्कीका ल्वाङ गाउँका बासिन्दाले समेत सुटिङको पैसा नतिरेको भनेर बोर्डमा मुद्दा परेको खबर आएका थिए ।

कमेन्ट गर्नुहोस्