फिल्म । यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’ को वर्ल्ड प्रिमियर सिक्किमको गान्तोकस्थित वाज्रा वर्ल्डमा सम्पन्न भएको छ ।प्रिमियरमा सिक्किमका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूसँगै नेपाली फिल्म उद्योगमा सिक्किमबाट प्रतिनिधित्व गर्ने फिल्मकर्मीको उल्लेख्य उपस्थिति थियो ।
निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेता सौगात मल्ल र अनुपविक्रम शाहीसहितको टोली प्रिमियरमा सहभागी हुन नेपालबाट सिक्किम पुगेको थियो । ७०० सिट क्षमताको वाज्रा हल अतिथि दर्शकहरूले खचाखच भरिएको थियो । अभिनेत्री गीताञ्जली थापा पारिवारिक कारणले यसको पहिलो प्रिमियरमा उपस्थित हुन सकिनन् ।
फिल्म हेरिसकेपछि स्थानीय दर्शकहरूले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । पर्दामा हेर्दा धेरै सिक्किमेली दर्शकहरू भावुक र उत्साहित देखिए । दर्शकहरूले कलाकारहरूको अभिनय, निर्देशन, सिनेमाटोग्राफी, ब्याकग्राउन्ड म्युजिक (बीजीएम) र भिएफएक्सको खुलेर प्रशंसा गरे । गायिका तथा संगीतकार झुमा लिम्बुको संगीत पनि विशेष चर्चामा रह्यो । नवकलाकार सुस्मिता भुजेलको अभिनयलाई पनि दर्शकहरूले सकारात्मक रूपमा लिएका छन् ।
वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित यो फिल्मले कृतिलाई पूर्ण न्याय गरेको निर्देशक साम्तेन भुटियाले बताए । अभिनेता उत्तम प्रधानले फिल्म उत्कृष्ट बनेको भन्दै सम्पूर्ण टिमलाई बधाई दिए । कलाकारहरूको अभिनय र निर्देशकीय पक्षको प्रशंसा गर्दै उनले नेपाली दर्शकहरूले आफ्नो समाजको विगत जान्नका लागि ‘जार’ एकपटक हेर्नै पर्ने फिल्म भएको बताए ।
मुख्यतः निर्देशक फुर्वा लामा, अभिनेत्री गीताञ्जली थापा, अभिनेता सौगात मल्ल र अनुपविक्रम शाही दर्शकहरूको प्रशंसाको केन्द्रमा रहे । निर्देशक लामाले आफूले सोचेभन्दा राम्रो प्रतिक्रिया पाएको भन्दै कतिपय ठाउँमा गरिएका नयाँ प्रयोग र जोखिमलाई दर्शकहरूले अनुमोदन गरेको बताए ।
अभिनेता सौगात मल्ल र अनुपविक्रम शाहीले सिक्किमेली दर्शकहरूसँगै बसेर फिल्म हेर्दा राम्रो प्रतिक्रिया पाएको भन्दै फिल्म पारखीहरूलाई ‘जार’ ले सन्तुष्ट बनाउने विश्वास व्यक्त गरे । उनीहरूले साहित्यकार राईको अमर कृतिमा आधारित फिल्मलाई दर्शकहरूले पनि अमर बनाउने आशा व्यक्त गरे ।
सिक्किम लोकसभाका डेपुटी स्पिकर राजकुमारी थापा प्रमुख अतिथि रहेको उक्त प्रिमियर समारोहमा सिक्किम प्रहरी प्रमुख अक्षय सच्देवा, लोकसभा सदस्य इन्द्रहाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार ज्याकव खालिम, सिक्किम सरकारका प्रवक्ता कर्मा सुब्बा, मुख्यमन्त्री कार्यालयका सचिव एसडी ढकाल लगायत विशिष्ट राजनीतिक व्यक्तित्वहरूका साथै नेपाली चलचित्र निर्माता सुस्मा गुरुङ, निर्देशक साम्तेन भुटिया, प्रशान्त रसाइली, अभिनेता उत्तम प्रधान लगायतको उपस्थिति थियो ।
सिक्किमपछि यसको दोस्रो प्रिमियर मे ३ तारिखमा सिलिगुडीमा हुने तय भएको छ । बिहीबार दार्जिलिङमा प्रचारात्मक कार्यक्रम सम्पन्न गरेपछि ‘जार’ टिम सिलिगुडी प्रस्थान गरेको छ । सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ । त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा यसका कार्यकारी निर्माता हुन् । होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा यो फिल्म निर्माण भएको हो ।










