फिल्म । नेपाली विद्यार्थीहरूको गन्तव्यको सहर बनिरहेको अष्ट्रेलियाको ठूलो शहर सिड्नी नाममाथि फिल्म बन्ने भएको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘सिड्नी’ निर्माण हुने घोषणा गरिएको छ । देव कुमार श्रेष्ठको निर्देशनमा तयार हुने फिल्मको घोषणा बाहेक अन्य जानकारी दिइएन । ‘फिल्म सिड्नी पुग्ने जोडीको कथा देखाउने छौं । बाँकी जानकारी विस्तारै दिनेछौं’, निर्देशक श्रेष्ठले भने ।
सविन श्रेष्ठ र रीमा विश्वकर्माको जोडी रहने फिल्मओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने छ भने यसको २० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमा छायांकन हुनेछ । कार्यक्रममा निर्धारित समय भन्दा ढिला आइपुगेकी नायिका विश्वकर्माले आफ्नो भूमिकाबारे प्रस्ट्याउन सकिनन् । नायक श्रेष्ठले आफू सुहाउँदो भूमिका रहेकाले अभिनय गर्न लागेको जानकारी दिए ।
अम्बर रसाइली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा चोला बहादुर आचार्य र भीमराज रसाइली छन् । युगलध्वज कार्कीको लेखन रहेको फिल्मलाई हरि बहादुर घलेले छायांकन गर्नेछन् । फिल्मको प्रोडक्सन डिजाइनरमा शंकर पाण्डे छन् ।












