चाडपर्वमा दर्शकको रोजाईमा नेपाली फिल्म

फिल्म । नेपाली फिल्मको लागि चाडपर्व सुखद देखिएको छ । दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर दी टप (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली फिल्ममा दर्शकको उपस्थिति राम्रो देखिएको छ । विदेशीको तुलनामा स्वदेशी फिल्मकै व्यापार दसैँ तिहारमा धेरै माथि रहेको छ ।

दसैँ लक्षित गर्दै चलचित्र भवनमा प्रदर्शन गरिएको ‘पशुपति प्रसाद २ः भष्मे डन’ र ‘परदेशी २’ ले बक्सअफिसमा पनि राम्रो व्यापार गर्यो । तिहारलाई लक्षित गर्दै प्रदर्शन गरिएको फिल्म ‘दिमाग खराब’ ले पनि राम्रो व्यापार गरिरहेको छ ।

अभिनेता खगेन्द्र लामिछानेले दर्शकले चाडपर्वमा नेपाली चलचित्र नै रुचाउनु भएको बताए । ‘केही वर्ष यता दर्शकले चाडपर्वमा आफ्नै स्वदेशी फिल्मलाई हेर्न आउनु भएको पाएँ । हामीले उहाँहरूको विश्वास नटुट्ने फिल्म बनाउनु जरुरी छ’, अभिनेता लामिछानेले भने ।

चलचित्र भवनसँगै ओटीटीमा समेत नयाँ फिल्म प्रदर्शन गरियो । नेपालमा युट्युब, डिसहोम, सिनेमा घर, भिडियो पसल लगायतका एप्लिकेसनमार्फत केही प्रतिक्षित फिल्म दर्शक माँझ ल्याईयो । सिनेमा घर एपमार्फत चलचित्र ‘जारी’ प्रदर्शन गरियो । डिस होममार्फत ‘शत्रु गते’, ‘छक्का पञ्जा ४’, ‘माइकल अधिकारी’, ‘पासो’, ‘कृष्ण लिला’, ‘प्रेम गीत ३’, ‘चिसो मान्छे’ र ‘झिँगेदाउ’ प्रदर्शन गरियो ।

यस्तै, ‘कान्तिपुर सिनेमाज’ मार्फत फिल्मतर्फ ‘ज्याकी : आइएम ट्वान्टी वान’, ‘जुलेबी’ र ‘म’, ‘ची मुसी ची’,शृंखलातर्फ ‘मिस स्कार्लेट’, ‘लभ सूत्र’ र ‘ब्रह्माण्ड’, छोटो चलचित्रतर्फ ‘मदर’, ‘खरानी, ‘ऋतु’ र ‘नेपाली फिक्सन’ प्रदर्शन गरिएको छ । यसका सञ्चालक प्रकाश पुरीले दर्शकको सङख्या राम्रो देखिएको जानकारी दिए ।

‘हामी दर्शकको अपेक्षा अनुसार कन्टेन ल्याउने छौँ । त्यही तयारी अनुसार सुरू गरेका छौँ”, सञ्चालक पुरीले भने ।

कमेन्ट गर्नुहोस्