सौन्दर्य । ‘मिस यूनिभर्स नेपाल २०२२’को उपाधि सोफिया भुजेलले प्राप्त गरेकी छिन् । काठमाडौंको याक एन्ड यति होटलमा बिहिबार बेलुका आयोजना भएको भव्य समारोहमा सोफियाले चर्चित सौन्दर्य प्रतियोगीताको ताज पहिरिइन् । उनलाई, पूर्व ‘मिस यूनिभर्स नेपाल’ सुजिता बस्नेतले ताज लगाइदिएकी थिइन् । सोफियाले उपाधिसँगै १० लाख रुपैयाँ र इलेक्ट्रोनिक स्कुटी पनि प्राप्त गरेकी छिन् । साथै, उनले अब ७१ औं श्रृङ्खलाको ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
उपाधि जितेपछि सोफियाले मिडिया कुराकानीमा भनिन्–‘मैले मिस यूनिभर्स नेपालको उपाधि जित्ने सपना बोकेकी थिएँ । विगत १२ दिनदेखिको क्लोज क्याम्प मेरा लागि यो उपाधि जित्न अझै सहयोगी भएको छ ।’
काठमाडौं निवासी २७ बर्षिया सोफियाले सम्पूर्ण घेरा तोडेर अगाडि बढेका महिलाहरु नै आफ्नो प्रेरणाको श्रोत भएको बताएकी छिन् । यस बर्षको ‘मिस यूनिभर्स नेपाल’को निर्णायकमा बैंकर अनिल केशरी शाह, नायिका प्रियंका कार्की, ऋचा शर्मा, संगीता थापा, सिमा गोल्छा, थियागाराजन रामाशामी थिए ।
यस्तै, यस बर्षको ‘मिस यूनिभर्स नेपाल’को फस्टरनरअप विपना अधिकारी, सेकेन्ड रनरअप आश्मा केसी, थर्ड रनरअप सेफिना जोशि र फोर्थ रनरअप मोनालिसा पराजुली हुन सफल भएका छन् । कार्यक्रममा ‘मिस यूनिभर्स नेपाल’ कि नेशनल डिरेक्टर नग्मा श्रेष्ठले आगामी संस्करणको लागि झनै हौसला प्राप्त भएको बताएकी छिन् ।











