कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्र, मधु र विनोद विजयी

देश । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी भएका छन् । उपसभापति समावेशीतर्फ विनोदकुमार चौधरी निर्वाचित भएका छन् । त्यस्तै, महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन् भने महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन् ।

उपसभापति खुलातर्फको मतगणनामा डा. चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् । विजयी अर्का उम्मेदवार इन्जिनियर मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरेका छन् ।

अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।

उपसभापति समावेशीतर्फको एक पदमा विनोदकुमार चौधरी १ हजार ७४५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरेका छन् । यसैगरी, फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।

महामन्त्री खुलातर्फ प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् । उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गर्दै महामन्त्री पदमा विजय हासिल गरेका छन् ।

अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।

महिला महामन्त्रीतर्फको एक पदमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गरेकी छन्। त्यस्तै, रीता खनालले ८०४ मत प्राप्त गरेकी छन्।

कमेन्ट गर्नुहोस्