विदेश । बिहार विधानसभा निर्वाचनबाट एनडीएलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ । बिहार राज्यको २ सय ४३ सदस्यीय विधानसभामा सरकार बनाउनका लागि कम्तीमा १ सय २२ सिट चाहिन्छ र एनडीएले १ सय २५ सिट जितेको छ । यो जितसँगै एनडीएलाई सरकार बनाउने बाटो खुलेको हो । यस्तै , महागठबन्धनले १ सय १० सिट जितेको छ ।
महागठबन्धनको नेतृत्व गरेको राष्ट्रिय जनता दल (राजद) ७५ सिटमा विजयी हुँदै बिहारको सबैभन्दा ठूलो पार्टी बनेको छ । एनडीए गठबन्धनमा आबद्ध भारतीय जनता पार्टी (भाजपा)ले ७४ सिट जितेको छ । सन् २०१५ मा ७१ सिट जितेको मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जदयु) यस पटक भने ४३ सिटमा मात्र चित्त बुझाएको छ । साथै , सन् २०१५ मा २७ सिट जितेको कांग्रेसले यस पटक १९ सिट जितेको छ ।
सांसद असदुद्दीन ओवेसीको पार्टी अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिनले राम्रो नतिजा हात पार्दै ५ सिट जितेको छ । जदयुको विरोध गर्दै विधानसभा चुनाव एक्लै लडेको चिराग पासवानको लोक जनशक्ति पार्टी (एलजेपी)ले केबल एक सिट जितेको छ । यसैगरी बहुजन समाज पार्टीले एक सिट र एक स्वतन्त्र सांसद विजयी भएका छन् ।









