‘डियर काव्या’ घोषणा

फिल्म । गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘डियर काव्या’को औपचारिक घोषणा गरिएको छ । बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित समारोहमा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।

फिल्ममा उपासना सिंह ठकुरी र बिक्की समशेर खड्का मुख्य भूमिकामा देखिनेछन् । बिक्कीका लागि भने ‘डियर काव्या’ डेब्यु फिल्म हुनेछ । उनी थिएटरका विद्यार्थी हुन् । सार्वजनिक पोस्टरमा उपासना र बिक्कीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । पोस्टरमा बिक्कीको घाँटीमा रहेको गलबन्दी उपासनाले तान्दै उनलाई आफूतिर नजिक ल्याएको देखिन्छ । पोस्टरको पृष्ठभूमिमा नेपालगन्ज सहरसँगै कर्णाली पुललाई देखाइएको छ ।

फिल्मको निर्देशन श्रद्धा प्रसाईंले गर्नेछिन् । उनका लागि यो दोस्रो निर्देशकीय फिल्म हो । यसअघि उनले निर्देशन गरेको ‘ककाकिकी’ प्रदर्शनको तयारीमा छ । ‘डियर काव्या’को छायांकन आगामी मंसिरबाट सुरु गर्ने निर्माण पक्षले जनाएको छ । फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुन मगरलगायत कलाकारको अभिनय रहनेछ ।

फिल्मका निर्माता देवी सिंह र हेमकुमारी भेटुवाल हुन् भने दिया मास्के र सन्दीप दंगोल कार्यकारी निर्माता रहेका छन् । लाइन प्रोड्युसर अर्जुन पौडेल हुन् । फिल्मको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गर्नेछन् भने मेकअपको जिम्मेवारी प्रिया कार्कीले सम्हाल्नेछिन् ।

फिल्मको घोषणा कार्यक्रममा निर्देशक श्रद्धा प्रसाईंले आफूलाई विश्वास गरेर निर्देशनको जिम्मेवारी दिएकोमा खुसी व्यक्त गरिन् । उनले ‘डियर काव्या’ आफ्नो दोस्रो निर्देशकीय फिल्म भएको बताइन् । ‘डियर काव्या’का लागि आफूहरूले भरपूर मेहनत गर्ने उनको भनाइ थियो ।

कार्यकारी निर्माता दिया मास्केले ‘डियर काव्या’मार्फत निर्माताका रूपमा आफ्नो पहिलो यात्रा सुरु गर्न लागेको बताइन् । फिल्म निर्माण आफ्ना लागि नयाँ अनुभव हुने उल्लेख गर्दै उनले फिल्मबारे थप जानकारी क्रमशः सार्वजनिक गर्दै जाने बताइन् ।

डेब्यु अभिनेता बिक्की समशेर खड्काले आफ्नो पहिलो फिल्मका लागि आफूलाई विश्वास गरेर अवसर दिएकोमा निर्माण टिमप्रति आभार व्यक्त गरे । उनले दिया मास्के र अनुप बराल आफ्ना अभिनय गुरु रहेको उल्लेख गर्दै उनीहरूले आफूलाई विश्वास गरेर फिल्ममा लिएको बताए ।

त्यस्तै, अभिनेत्री उपासना सिंह ठकुरीले ‘डियर काव्या’का लागि आफूलाई छनोट गरेकोमा निर्माण टिमप्रति आभार व्यक्त गरिन् । विशेषगरी दिया मास्केलाई धन्यवाद दिँदै उनले महिला निर्देशकसँग पहिलोपटक काम गर्न लागेकाले आफू उत्साहित रहेको बताइन् ।

निर्माण पक्षका अनुसार फिल्मको कथावस्तु तथा अन्य प्राविधिक पक्षबारे थप जानकारी आगामी दिनमा सार्वजनिक गरिनेछ । फिल्मको छायांकन मंसिरबाट सुरु गर्ने तयारी भइरहेको छ ।

कमेन्ट गर्नुहोस्