आउँदो शुक्रबार देखि भारतमा ‘हजार जुनीसम्म’

फिल्म । पछिल्लो समय नेपाली फिल्मको बजार विस्तारमा निर्माता निर्देशक कसरत छन् । विदेशी मार्केटसंगै नेपाली फिल्मलाई छिमेकी राष्ट्र भारतको नेपाली भाषीको बसोबास रहेको दार्जिलिङ्ग , सिक्किम लगायतका स्थानमा प्रदर्शन गर्न सकेपनि राम्रो दर्शकसंगै बजार विस्तारमा टेवा पुग्छ । यसकै शिलशिलामा केहि महिनाको तयारीपछि गत साउनमा नेपालमा प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ रिलिज हुने भएको छ ।

विकासराज आचार्य निर्देशित लभस्टोरी फिल्म ‘हजार जुनीसम्म’ आउँदो मार्च १३ बाट सिलीगुरीको इनोक्स सिटी सेन्टर , इनोक्स भेजा मल , कार्निभलमा प्रदर्शन हुँदैछ । यसैगरी दार्जिलिङ्गको इनोक्स रिङ्क मल , कुर्सियोङ्गको फान्टासिया , कालिम्पुङको ड्रिम थियटर , सिक्किमको पनि ड्रिम थियटर , गान्तोकको डेन्जोङ्ग हल र नाम्चीको इपेरियल टाकिजमा लगायतका हलमा फिल्म प्रदर्शन हुदैछ । फिल्म प्रदर्शनलाई लक्षित गर्दै सोमवार कालिम्पुङमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले फिल्म दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलीगुरीमा रहेका सम्पूर्ण हलमा प्रदर्शन हुने जानकारी गरायो ।

पत्रकार सम्मेलनमा अभिनेताद्वय आर्यन सिग्देल र अखिलेष प्रधान, अरुण रेग्मी र भारत प्रदर्शन अधिकार लिएको ड्रिम थिएटर मोसन पिक्चरकी मार्केटिङ हेड सुष्मा राई उपस्थित थिए । मोसन पिक्चरकी सुष्माले सिक्किमको प्राकृतिक सुन्दरता कैद गरिएकाले सिक्किमका दर्शकलाई विशेषगरि फिल्म हेर्न आग्रह समेत गरिन् । आर्यनले पनि फिल्म स परिवारले संगै हेर्न मिल्ने रहेको बताए । ‘फिल्म फ्यामिली ड्रामासंगै प्रेम कथामा आधारित छ । मायाको पर्खाइ र समपर्ण रहेको फिल्मले मन छुनेमा आशावादी छु’ आर्यनले भने ।

उपस्थित अखिलेसले डेब्यु फिल्ममा सकेको काम गरेको बताए । ‘मेरो पहिलो भएकोले मैले धेरै सिक्न पाए र यसलाई रुचाइनेमा आशावादी छु’ उनले भने । उपस्थित अरुणले नेपाली फिल्मको बजार रहेकाले नेपाली फिल्मले माया पाउनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए । ‘हामीलाई केहि समय लाग्यो किनकी केहि प्रावधान थिए तर अब हामी नेपाली फिल्म रेगुलर यहाँ लगाउने सोचमा छौ । मेरो मात्र नभई राम्रा नेपाली फिल्मलाई यो बजारमा ल्याउने छु’ अरुणले भने । उनले अन्य बाँकी स्टेसनमा पनि फिल्म छिटै रिलिज गरिने बताए । फिल्मको छायांकन सिक्किम र दार्जिलिङ्गको रमणीय दृश्यमा गरिएको थियो भने एमजी रोडमा छायांकन गरिएको गीत ‘एमजी रोडैमा’ त्यहाँ लोकप्रिय भईसकेको छ । फिल्ममा स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुईंटेल, शिवहरी पौडेललगायतका कलाकारहरु पनि अभिनय छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन् ।

कमेन्ट गर्नुहोस्