फ्राइडे फिल्म : ‘बम बहादुर’ नेपालभर रिलिज

फिल्म । आज शुक्रबारदेखि नेपाली फिल्म ‘बम बहादुर’ नेपालभर प्रदर्शन भएको छ । भारतका नेपाली, विशेषगरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पलहरूलाई पर्दामा उतारिएको फिल्मका लेखक तथा निर्देशक जोन राई हुन् ।

सन् १९८० को दशक, अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमा आधारित फिल्मले तात्कालिन समयको सामाजिक र राजनीतिक पृष्ठभूमिलाई चित्रण गर्दै भारतीय नेपाली समुदायले भोगेको सङ्घर्षलाई सजीव रूपमा प्रस्तुत गरेको छ । निर्देशक राईका अनुसार, यो फिल्म भारतका नेपाली समुदायको इतिहासलाई डिजिटल दस्ताबेजको रूपमा संरक्षित गर्ने उद्देश्यले निर्माण गरिएको हो ।

बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको ‘बम बहादुर’का निर्माता सञ्जीव सार्कीले आजका र भोलिका पुस्ताले आफ्नो इतिहास बिर्सिन नहुने उद्देश्यले यो फिल्म निर्माण गरेको बताए । यसमा सौगात मल्लको प्रमुख भूमिका रहेको छ । साथै, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिष्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, र धीरज चाम्लिङलगायतको अभिनय रहेको छ ।

फिल्मको कथा र पटकथा जोन राई र रुपेश तामाङले लेखेका हुन् । छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन् । दीपङ्कर सिंह मुखियाको सङ्गीत र गीत रहेको यसको म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले तयार पारेका छन् ।

फिल्मका लाइन प्रोड्युसर प्रकाश हमाल, कलरिस्ट कुनाल कुँवर, साउन्ड मिक्सर मुकेश शाह हुन् । वितरणको जिम्मा रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन् । पोस्ट प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो ।

कमेन्ट गर्नुहोस्