फिल्म । गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुतिमा बनेको नेपाली फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको छ । एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतसँगै फिल्मप्रति दर्शकको उत्सुकता झन् बढेको छ। रानी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मको गीतमा आनन्द अधिकारीको शब्द, उज्ज्वल सागरको संगीत तथा रामकृष्ण ढकाल र रचना रिमालको स्वर रहेको छ।
निर्माता तथा गायक ढकालले संगीतकार उज्ज्वल सागरलाई हस्ताक्षरसहितको गितार उपहार प्रदान गरे । दृष्टिविहीन संगीतकार सागरले टिमसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको प्रतिक्रिया दिए । कार्यक्रममा बोल्दै ढकालले फिल्मको शीर्षकले धेरैलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे को गीतिनाटकसँग सम्बन्धित हो कि भन्ने भ्रम पर्न सक्ने भन्दै स्पष्ट पारे।
‘यो फिल्म राष्ट्रकविको नाटकमा आधारित होइन, हाम्रै समाजको एक सामाजिक प्रेमकथा हो’, उनले भने। गीतकार आनन्द अधिकारीले गीतमार्फत प्रेममा कुनै स्वार्थ नहुने सन्देश दिन खोजिएको बताए । गायिका रचना रिमालले भने आफ्नो आवाजका लागि लामो समय पर्खिएकोमा ढकालप्रति कृतज्ञता व्यक्त गरिन् ।
निर्देशक प्रकु पाण्डेयले आफ्नो पहिलो निर्देशनमा विश्वास गरेकोमा ढकालप्रति आभार प्रकट गरे । अभिनेत्री वर्षा राउतले यस्तो प्रतिष्ठित व्यक्तित्वसँग काम गर्न पाउनु गर्वको विषय भएको बताइन् । अभिनेता विजय बराल भने छायांकनमा व्यस्त रहेकाले कार्यक्रममा उपस्थित हुन सकेनन् ।
फिल्ममा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका छन् । छायांकन महेश पौडेलले गरेका छन् भने सम्पादन रोमी मोजेज, रङ्ग संयोजन कृष्ण भण्डारी र ध्वनि मिश्रण डिकेश खड्गीको रहेको छ ।










