‘मोदीबेनी’ की स्नेहा

फिल्म । साउन १८ देखि प्रदर्शन हुने फिल्म ‘मोदीबेनी’ मार्फत स्नेहा भट्टराई ठूलो पर्दामा आउदैछिन् । व्यवसायिक विज्ञापन र तीन म्युजिक भिडियोमा अभिनय गरिसकेकी स्नेहा डेब्यु फिल्ममार्फत आशावादी छिन् । उनी फिल्म मा अडिसनमार्फत भित्रिएकी हुन् । सबै पात्रलाई बाँध्ने धागोको रुपमा आफू फिल्ममा प्रस्तुत भएकी बताउने स्नेहा फिल्मलाई लिएर उत्साहित छिन् ।

‘लक्ष्य त मेरो फिल्ममै अभिनय गर्ने थियो । त्यसका लागि अनुभव संगाल्न पनि विज्ञापन र भिडियोमा काम गरें’, स्नेहाले भनिन् । ‘मोदीबेनी’का सहायक निर्देशक सगुन तामाङले उनलाई अडिसनबारे जानकारी दिए । त्यसपछि उनी फिल्मसँग जोडिन् पुगिन् ।

नायिका वर्षा शिवाकोटीसँग एकै कोठामा बस्ने प्रबन्ध मिलेकाले छायाङ्कनमा उनले केही सहज महसुस गरिन् । उनले भनिन्, ‘एकै रूममा भएकाले वर्षा दिदीसँग पनि आत्मीयता भयो । काममा केही सहज भयो ।’

उनले छायांकनमा प्रवीण खतिवडा, कमलमणी नेपाल, जीवन भट्टराईसँग डायलग बोल्नेदेखि अभिनय गर्ने शैलीलाई प्रत्यक्ष हेर्दै सिक्न पाइन् । स्नेहाका अनुसार उनी सो फिल्ममा उनको भूमिकालाई दर्शकले नोटिस गर्छन् ।

फिल्ममा वर्षालाई दर्शकले ‘पूर्णिमा’ र स्नेहालाई ‘कान्छी’को भूमिकामा देख्न पाउनेछन् । वर्षा र स्नेहाबिचको केमेष्ट्री पनि दर्शकका लागि विशेष हुने अपेक्षा गर्न सकिन्छ । निर्देशक शंकर कोइराला यो फिल्म घाटको कथा भएको बताउँछन् । वास्तविक कथालाई पर्दामा प्रस्तुत गरिएकाले दर्शकले मन पराउने विश्वास उनको छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन्। यसलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीको सम्पादन छ। यसका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ।

फिल्ममा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ। फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्