‘कलर अफ टी’ ग्रीसमा पुरस्कृत

फिल्म । नेपाली लेखक तथा निर्देशक राज सरगमको सर्ट फिल्म ‘कलर अफ टी’ ले युरोपको ग्रीसमा भएको ‘१२ औं अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव इरापेट्रा एण्ड अवार्ड्स’मा पुरस्कार जितेको छ । अगस्त १३ तारिखमा महोत्सव आयोजकले आफ्नो वेबसाइटमार्फत पुरस्कृत फिल्महरूको सूची सार्वजनिक गर्दै ‘दोस्रो महोत्सव पुरस्कार नेपालका राज सरगमद्वारा लिखित तथा निर्देशित अन्तर्राष्ट्रिय सर्ट फिल्म ‘कलर अफ टी’ लाई जान्छ’ भनेको छ ।

‘१२औं अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव इरापेट्रा एण्ड अवार्ड्स’ ले ग्रीसमा विश्वभरका उत्कृष्ट लामा र छोटा वृत्तचित्र तथा सर्ट फिल्महरूलाई आफ्नो प्रतिस्पर्धात्मक खण्डमा प्रदर्शन गर्ने गर्छ । ‘कलर अफ टी’ले मधेशका दलित आदिवासीहरूको कथा भन्छ, जो जातीय भेदभावलाई निरन्तरता दिने सूक्ष्म आक्रमण र हिंसाविरुद्ध मौन विद्रोह गर्छन् ।

राज सरगमको यही फिल्मले गत जुलाईमा कोरियामा भएको ‘कोरिया ग्योङ्गी अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा दिगो विकास लक्ष्य २०२५ का लागि उत्कृष्ट पुरस्कार जितेको थियो । यसैगरी, यो फिल्म युरोपको जर्मनीमा आगामी सेप्टेम्बरमा हुने ‘कोबानी अन्तर्राष्ट्रिय फिल्म महोत्सव’को क्वार्टर फाइनलमा पुग्न सफल भएको छ । युरोपको मोन्टेनेग्रो पोडगोरिकामा भएको ‘एमओडी फेस्टस्: अल्पसंख्यक खुला दिन २०२५’ मा पनि यो अफिसियल छनोटमा परेको थियो ।

कमेन्ट गर्नुहोस्