‘रियल टाइम बक्सअफिस डेटा’ प्रणाली दुई साताभित्रै सञ्चालनमा ल्याउने तयारी

फिल्म । नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि प्रतिक्षा गरिएको ‘रियल टाइम बक्सअफिस डेटा’ प्रणाली अबको दुई साताभित्र सञ्चालनमा आउने भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बिहीबार यस प्रणालीको सफल परीक्षण सम्पन्न भएको जानकारी दिएका छन् ।

यो प्रणाली सुरु भएपछि देशभरका हलहरुले टिकट बिक्री गरेको पाँच मिनेटभित्रै त्यसको तथ्यांक स्वतः बक्सअफिसको केन्द्रीय सर्भरमा अद्यावधिक हुनेछ । यसले फिल्मको वास्तविक व्यापारिक तथ्यांक सहजै उपलब्ध हुने र वर्षौंदेखिको प्रयासले मूर्तरूप पाउने विश्वास गरिएको छ ।

अध्यक्ष डीसीका अनुसार यो बक्सअफिस डेटामा सरकारका प्रतिनिधि, फिल्म निर्माता र वितरकले मात्र पहुँच प्राप्त गर्नेछन् । यसको मद्दतले कुनै पनि फिल्म र हलको व्यापारिक इतिहासलाई सहज रूपमा विश्लेषण गर्न सकिनेछ ।

यसैगरी, चलचित्र विकास बोर्डले आफ्नो सेवा प्रवाहलाई पनि प्रविधिमैत्री बनाउँदै आगामी जेठ १५ गतेभित्र पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजाने तयारी गरेको छ । यसपछि सेवाग्राहीहरूले बोर्डको वेबसाइटमार्फत नै आफ्ना कामहरू गर्न सक्नेछन् । उल्लेखनीय कुरा त के छ भने, सेवाग्राहीलाई अब आफ्नो कामको लागि कार्यालयसम्म धाउनुपर्ने झन्झटसमेत हट्नेछ । बोर्डले आवश्यक कागजातहरू सेवाग्राहीकै स्थानमा पुर्‍याउने योजना बनाएको छ ।

यसैबीच, चलचित्र विकास बोर्डले काभ्रेको बनेपामा निर्माण गर्न लागेको इन्डोर फिल्म छायांकन स्टुडियोको शिलान्यासको तयारी पनि अन्तिम चरणमा पुगेको छ । यो परियोजना नेपाली फिल्म उद्योगको विकासका लागि महत्वपूर्ण मानिएको छ ।

कमेन्ट गर्नुहोस्