के हो ‘लालीबजार’ ?

फिल्म । ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आर्ट्सको नयाँ फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुँदैछ। अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको उक्त फिल्मको पहिलो पोस्टर सार्वजनिक भएदेखि नै दर्शकको ध्यान केन्द्रित भएको थियो। गर्भवती महिला शृंगार गरेर ढोकामा उभिएको दृश्यले फिल्मको कथावस्तु झल्काएको थियो। सार्वजनिक ट्रेलर र गीतसङ्गीतका कारण पनि फिल्म प्रतिक्षित बनेको छ। फिल्ममा स्वस्तिमाले बादी समुदायकी महिलाको भूमिका निर्वाह गरेकी छन्।

‘बुलबुल’ र ‘चिसो मान्छे’पछि स्वस्तिमालाई पुनः चर्चामा ल्याउने फिल्मका रूपमा ‘लालीबजार’लाई लिइएको छ। उनले यसलाई आफ्नो अभिनय यात्राको ‘टर्निङ पोइन्ट’ मानेकी छन्। अभिनय यात्रा सुरु गरेको एक दशकपछि पहिलोपटक अडिसन दिएर उनले ‘लालीबजार’को ‘मधुवाला’ पात्रका लागि आफूलाई तयार पारेकी थिइन्। फिल्मको गीत ‘मायालाई के दिउँ म बैना’ पछिल्लो समय युट्युब, टिकटक, रील्स र शर्ट्समा लोकप्रिय बन्दै गएको छ।

त्यस्तै ‘मिठो संसार’ र ‘मै राम्री छु त नी’ गीतहरू पनि दर्शकले रुचाएका छन्। ‘जात्रा’देखि षट्कोण आर्ट्सका फिल्महरू निर्देशन गर्दै आएका प्रदीप भट्टराई यसपटक भने निर्देशकका रूपमा नरही ‘लालीबजार’को निर्देशनको जिम्मेवारी यम थापालाई दिइएको छ। फिल्मको कथा पनि थापाकै हो भने पटकथा भट्टराई र थापाले संयुक्त रूपमा तयार पारेका छन्।

षट्कोण आर्ट्सले तराईको विषयमा फिल्म बनाउने तयारीका क्रममा निर्देशक यम थापासँग भएको भेटले ‘लालीबजार’ निर्माणको आधार तयार भएको हो। उक्त भेटमा निर्देशक भट्टराई, निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्री सहभागी थिए। छलफलका क्रममा थापाले आफूसँग रहेको बादी समुदायको पृष्ठभूमिमा आधारित आमा–छोरीको कथा सुनाएका थिए।

कथा मन परेपछि फिल्म निर्माणको प्रक्रिया अघि बढाइएको हो। निर्माण कम्पनीका अनुसार डिजिटल माध्यममा पर्याप्त सामग्री नपाइएपछि बर्दिया पुगेर अनुसन्धान गर्दै कथालाई पूर्णता दिइएको हो। बादी समुदायसँग सम्बन्धित संवेदनशील विषय भएकाले पटकथामा विशेष ध्यान दिइएको बताइएको छ।

बादी समुदायले गर्व गर्न सक्ने गरी फिल्म निर्माण गरिएको षट्कोण आर्ट्सको दाबी छ। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माता म्याक्स दीपेश खत्री, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, अभिनेत्री स्वस्तिमा खड्का, कलाकार रवीन्द्रसिंह बानियाँ, अभय बराल, गोविन्द सुनार, आशा पौडेल, समाइरा थापा तथा डेब्यु कलाकार विशाल देवकोटा र प्रशंसा सुवेदीले फिल्मबारे आफ्नो धारणा राखेका थिए।

विशाल देवकोटा थियटरमा अभिनेता तथा निर्देशकका रूपमा सक्रिय छन् भने प्रशंसा सुवेदी जेन–जी अभियन्ता तथा कन्टेन्ट क्रिएटरका रूपमा परिचित छिन्। दुवै कलाकार आफ्नो डेब्यु फिल्मलाई लिएर उत्साहित देखिएका छन्।

निर्माता म्याक्स दीपेश खत्रीले ‘लालीबजार’लाई विषयवस्तुका हिसाबले अहिलेसम्मकै परिपक्व काम भएको बताएका छन्। उनका अनुसार यसपटक आमा–छोरीको सम्बन्ध र समुदायको पृष्ठभूमिमा आधारित कथा प्रस्तुत गरिएको छ।

कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईले फरक कथा खोज्ने क्रममा यम थापाको कथा मन परेपछि फिल्म निर्माण गर्ने निर्णय गरिएको बताए। उनले बादी समुदायसम्बन्धी यथार्थ चित्रण गर्न विस्तृत अनुसन्धान गरिएको जानकारी दिए।

कलाकार रवीन्द्रसिंह बानियाँले फिल्मले एक आमाको संघर्ष र ममता प्रस्तुत गरेको बताए। उनले आफूले फिल्ममा नकारात्मक भूमिका निर्वाह गरेको उल्लेख गर्दै विषयको गम्भीरता बुझेर काम गरिएको बताए।

अभिनेत्री स्वस्तिमा खड्काले ‘लालीबजार’ले आफूलाई दीर्घकालसम्म चिनाउने विश्वास व्यक्त गरिन्। उनले पात्रलाई न्याय दिन बर्दिया पुगेर अनुसन्धान गरेको अनुभव सुनाइन्।

कलाकार विशाल देवकोटाले स्वस्तिमासँग काम गर्न पाउनु सिकाइको अवसर भएको बताए। उनले यस्ता फिल्महरूले समाजमा बहस सिर्जना गर्ने विश्वास व्यक्त गरे।

प्रशंसा सुवेदीले अडिसनमार्फत फिल्ममा अवसर पाएको बताउँदै पहिलो फिल्ममै सक्षम टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताइन्। ग्रामीण परिवेश अनुसार आफूलाई ढाल्न वर्कशपले सहयोग गरेको उनको भनाइ छ।

कमेन्ट गर्नुहोस्