फिल्म । अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको फिल्म ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माण पक्ष र वितरकबीच भएको सहमतिअनुसार फिल्म आगामी भदौ २६ गतेबाट देशभरका हलहरूमा प्रदर्शनमा आउने भएको हो ।
फिल्मको वितरण रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन् । नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा यस फिल्ममार्फत ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । उनले यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी छन् ।
यसपटक उनी अभिनयभन्दा निर्देशनमै केन्द्रित भएकी छन् । साथै, आफ्नै ब्यानर ‘रेखा फिल्म्स’ बाहिर रहेर निर्देशन गरेको यो उनको पहिलो अनुभव हो । ‘दिया एण्ड अमु फिल्म्स’को ब्यानरमा निर्माण भएको यस फिल्ममा नेपाली कला क्षेत्रका दिग्गजदेखि समकालीन चर्चित कलाकारहरूको अभिनय रहेको छ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ र दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन् । विशेष भूमिकामा पूर्व मिस नेपाल उषा खड्गी पनि देखिनेछिन् । यसरी फिल्ममा एकैसाथ चार मिस नेपाल समेटिएका छन् । त्यसैगरी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
फिल्मका निर्माता हरिनारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन् । ध्रुव लम्सालको पटकथा लेखन रहेको यस फिल्मले प्रेमकथामार्फत सामाजिक परिवेशलाई चित्रण गर्ने अपेक्षा गरिएको छ। लम्साल करिब १० वर्षपछि यसै फिल्ममार्फत लेखनमा फर्किएका हुन् ।
सुदीप बरालको छायांकन रहेको फिल्ममा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे संयोजक, प्रशान्त सिवाकोटी संगीतकार, सुजेनी मल्ल ड्रेस डिजाइनर, प्रिया कार्की मेकअप आर्टिस्ट र चुडामणि (सीएम) प्रोडक्सन प्रमुख रहेका छन् ।











