फिल्म । निर्देशक कृषा चौलागाईंको निर्देशनमा तयार हुने फिल्म ‘पारस’का कलाकार अनुबन्ध हुने क्रम जारी छ । यसअघि अभिनेता निखिल उप्रेती र अभिनेत्री जसिता गुरुङ अनुबन्धित भइसकेका थिए भने अब अभिनेत्री प्रियंका कार्की पनि फिल्ममा जोडिएकी छन् । निर्माण पक्षले बुधबार प्रियंकालाई ‘पारस’का लागि अनुबन्ध गरेको हो ।
फिल्म ‘पारस’मा निखिल उप्रेतीको जोडी जसिता गुरुङसँग बन्ने कि प्रियंका कार्कीसँग भन्ने विषयमा चर्चा सुरु भएको छ । यसबारे निर्माण टिमले अहिलेसम्म कसको जोडी कससँग बन्ने भन्ने खुलाएको छैन । जसिता अनुबन्धित हुँदा अधिकांशले निखिलको अपोजिटमा उनै रहने अनुमान गरेका थिए । तर प्रियंका पनि फिल्ममा जोडिएपछि जोडी कसको हुने भन्ने विषयमा दर्शकमाझ कौतुहलता बढेको देखिन्छ ।
एक्सन तथा सामाजिक कथामा आधारित यो फिल्ममा चर्चित कलाकारको सहभागितासँगै निर्देशक कृषाले सशक्त फिल्म निर्माण गर्न लागेको निर्माण पक्षको दाबी छ । हालसम्म निखिल, जसिता र प्रियंका फिल्ममा रहने जानकारी सार्वजनिक गरिएको छ भने अन्य कलाकारबारे भने निर्देशक कृषाले विस्तारै जानकारी दिने बताएकी छन् ।
केपी फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मको कथा तथा पटकथा भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् भने डीओपी पुरुषोत्तम प्रधान रहनेछन् । निर्माण टिमले फिल्मको छायांकन छिट्टै सुरु गर्ने तयारी गरेको जनाएको छ ।










