फिल्म । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘झिँगेदाउ’ लाई रुचाएका छन् । प्रिमियरमा फिल्म हेर्न पुगेका सेलिब्रेटी र मिडियाले फिल्मलाई राम्रो प्रतिक्रिया दिएका छन् । करीब ४ सय बढी फिल्मकर्मी र अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको प्रिमियरमा अधिकांशले फिल्मको कथावस्तु, हरेक कलाकारको अभिनय र निर्देशकिय पाटोको वाहवाही गरे ।
फिल्म हेर्न पुगेका अभिनेता दीपकराज गिरीले ‘झिँगेदाउ’ लाई कमर्सियल भ्यालूमा बनेको अर्गानिक फिल्म भने । ‘फिल्म अर्गानिक मात्र नभई कमर्सियल भ्यालु भएको छ । यस्ता फिल्मलाई दर्शकले हेर्नु पर्छ । यसले परिवारको महत्व दर्साउछ’ दीपकले भने । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले अनि फिल्म लाई मौलिक कथामा पूर्ण कमर्शियल फिल्म बनेको बताइन् ।
अभिनेत्री स्वस्तिमा खड्काले ‘झिँगेदाउ’ फरक शैलीमा बनेको कमर्शियल फिल्म भन्दै प्रशंसा गरिन् । मोडल गरिमा शर्माले फिल्ममा हाँसो, रोदन, खुसी सबै तत्व रहेको बताइन् । पुराना निर्देशक उज्जवल घिमिरेले भीमनीधी तिवारीको कृतिलाई ‘झिँगेदाउ’ले पूरा न्याय गरेको बताए । प्रिमियरमा फिल्मकर्मीबाट मिलेको प्रतिक्रियाले आफूहरुलाई थप हौसला मिलेको निर्देशक ज्ञानेन्द्र देउजाले बताए । ‘कृतिलाई न्याय गर्ने गरि फिल्मी शैलीमा कथालाई पर्दामा ल्याएको छु । प्राप्त प्रतिक्रियाले उत्साहित छु’ निर्देशक देउजाले भने ।
अभिनेत्री आँचल शर्माले दर्शक भएर फिल्म हेर्दा रमाइलो लागेको प्रतिक्रिया दिइन् । निर्देशक देउजाले ४०/४५ वर्ष अगाडिको सेटिङमा फिल्म बनाएका छन् । पारिवारिक फिल्म रुचाउने समुहलाई फिल्मले हलमा बाँधेर राख्न सक्छ । यो फिल्मले आमा र दुई दाजुभाइको कथा पनि पेश गर्छ । फिल्ममा मुकुन भुषाल दाई र कुशल बिष्ट भाइ बनेका छन् । फिल्ममा हिउँवाला गौतम, संगम भण्डारी, आयान खड्का र अभय बरालको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्ममा पटकथा प्रदीप भारद्वाजको रहेको छ ।
कृति ‘झिँगेदाउ’मा आधारित फिल्मले दुई दाजुभाई र देउरानी-जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ ।सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको फिल्ममा सुशील दाहाल र इश्वर घिमिरेको सह – निर्माण छ ।
फोटो : सुरेन्द्र थापा









