
सङ्गीत । गायक रामकृष्ण ढकालले यो दसैँ अस्ट्रेलियामा मनाउने बताएका छन् । ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमण अन्तर्गत शुक्रबार सिड्नी आइपुगेका गायक ढकालले शनिवार बेलुकी सिड्नीस्थित रगडेलबाट आफ्नो साङ्गीतिक भ्रमणको सुरुआत गरिसकेका छन् । सिड्नीपश्चात अस्ट्रेलियाका अन्य सहरमा आफ्नो प्रस्तुती तय भएकाले यसपटकको दसैँ अस्ट्रेलियाका नेपालीसँग मनाउने उनले जानकारी दिए ।
‘यसपटक मैले म्युजिकल टूरको सुरुआत सिड्नीबाट गरें । अन्य सहरमा केही कार्यक्रम तय भएको र केही हुने क्रममा रहेकाले यसपटक दसैँ यतै मनाउँदै छु । यहाँ अस्ट्रेलियामा आउँदा मलाई नेपाल छाडेको अनुभव नै हुदैन, यहाँका नेपालीले दिईरहनुभएको मायालाई व्यक्त गर्ने मसँग शब्द नै छैन’, गायक ढकालले भने ।
पाल्पा सर्भिसेसले आयोजना गरेको कार्यक्रमका लागि अस्ट्रेलिया आइपुगेका ढकाल अक्टोबरको अन्तिम सातासम्म विभिन्न सहरमा कार्यक्रम गर्ने सेड्युल रहेको आयोजक पाल्पा सर्भिसेसका अध्यक्ष दिनेश श्रेष्ठले बताए । उनका अनुसार अक्टोबर १ मा न्युक्यासल, ५ मा सिड्नीकै ग्रान्भिल, ६ मा ब्रिसबेन र ७ मा एडिलेडमा कार्यक्रम तय भईसकेको छ ।
गायक ढकालको ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणमा ए टू जेट क्लिनिङ सप्लाएर्स, क्लिनिङ् एण्ड हस्पिटालिटीका प्रमुख कृष्ण थापा र चलचित्र निर्माता सुभाष थापाको पनि सहकार्य रहेको छ ।
