‘छ भने माया’ मा तीन पुस्ता

फिल्म । अभिनेता सलोन बस्नेत बाल कलाकार हुँदै निर्माता बनेका छन् । उनको निर्माण रहेको पहिलो फिल्म ‘रङ्गी’ मा समावेश ‘छ भने माया’ गीत सार्वजनिक भईसकेको छ । टिकटक तथा फेसबुकको रिल्समा चर्चामा आइरहेको गीतमा अभिनेता बस्नेतसँगै दीलिप रायमाझी, नव अभिनेत्री नम्रता श्रेष्ठ, बालकलाकार आयुषी ढकाल देखिएका छन् । आनन्द कार्की र सुजता केसीको स्वर, दुर्गेश थापाको शब्द, सङ्गीत रहेको गीतको भिडिओमा तीन पुस्ता देखिएका छन् ।

‘बुवा शोभित बस्नेतसँग काम गर्नुभएका अग्रज, मेरा समकालीन र नव प्रवेशीसँग काम गर्न पाउँदाको खुसी म शब्दमा व्यक्त गर्न सक्दिन् । तीन पुस्ताको सहभागिताले गीतलाई झनै सुन्दर बनाएको छ । फिल्म निर्माणको क्रममा मैले आफ्ना र साच्चिकै आफ्ना चिन्ने मौका पाएँ’, उनले भने ।

गायक कार्कीले पनि सलोनको फिल्ममा काम गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले भने,‘म शोभितजीको प्राय चलचित्रमा गीत गाउथे । अहिले उहाँको छोराको चलचित्रमा पनि गाउँन पाउँदा खुसी लागेको छ । यो गीतमार्फत म नयाँ पुस्ता कहाँ गुञ्जिनेमा विश्वस्त छु ।’

सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको फिल्ममा विशाल पहाडी, उत्तम केसी, सुमिन गुरुङ लगायतका कलाकारले पनि अभिनय गरेका छन् । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा तयार भएको फिल्ममा सुमन गजमेरले कथा लेखन, सौरभ लामाले छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीले सङ्गीत सिर्जना, बन्दे प्रसादले सम्पादन, राजेन्द्र मोक्तानले रङ्ग संयोजन, कविराज गहतराज र शिशिर खातीले नृत्य निर्देशन गरेका छन् । फिल्म आउँदो प्रणय दिवस अर्थात् फागुन २ मा नेपालसँगै विश्वभर प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

कमेन्ट गर्नुहोस्