‘महाराजधिराज’मा पुष्प अनुबन्धित

फिल्म । नेपाली फिल्म ‘महाराजधिराज’मा मुख्य भूमिकाका लागि अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन् । निर्माण टिमले नयाँ वर्षको अवसर पारेर पुष्पलाई अनुबन्ध गरेको जानकारी दिँदै फिल्मको विशेष पोस्टरसमेत सार्वजनिक गरेको छ। लामो समयदेखि फिल्ममा राजाको भूमिका कसले निर्वाह गर्ने भन्ने कौतुहलताको अन्त्य गर्दै निर्माण पक्षले पुष्पको नाम सार्वजनिक गरेको हो।

निर्माण टिमले पोस्टरसँगै ‘सत्कर्म सद्भावका कदमले हरपल साथ निभाओस्, वैमनस्यता बेइमानी संकट कुनै पल नजिक नआओस्’ भन्ने अर्थपूर्ण स्लोगन पनि सार्वजनिक गरेको छ। पुष्पले यो फिल्ममा अनुबन्ध हुँदा औंला काटेर रगतको छाप लगाएको खुलाइएको छ, जुन सामान्य हस्ताक्षरभन्दा फरक शैली हो। उनले यो भूमिकालाई आफ्नो करिअरको ठूलो अवसर र चुनौतीका रूपमा लिएका छन्। साथै, फिल्मको छायांकन अवधिभर अन्य कुनै फिल्म, म्युजिक भिडियो वा सामाजिक सञ्जालका दृश्य सामग्रीमा संलग्न नहुने बताएका छन्।

पोस्टरले फिल्म ‘पिरियड ड्रामा’ वा थ्रिलर शैलीको संकेत गरेको छ। यसको कलर ग्रेडिङ, कम्पोजिसन र थिमले दर्शकमाझ उच्च अपेक्षा सिर्जना गरेको छ।वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा रहेको फिल्ममा पुष्पसँगै नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट र आशा पौडेललगायत कलाकारको अभिनय रहनेछ।

निर्देशक सेनको ड्रीम प्रोजेक्टका रूपमा रहेको यस फिल्ममा करिब ८० जना कलाकार रहने जनाइएको छ। प्रस्तुतकर्ता विराज विष्टले नयाँ तथा अनुभवी कलाकारको सन्तुलित संयोजन गरिएको बताए। फिल्मको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु गरी काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक स्थानमा गरिनेछ। नवराज थापाले छायांकन सम्हाल्नेछन्।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक सेनकै कथा रहनेछ। उनले यसअघि निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ समीक्षात्मक रूपमा सफल भएको थियो। रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट निर्माता रहेको ‘महाराजधिराज’लाई आगामी बडादशैंको फूलपातीका अवसरमा देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्माण टिमले जनाएको छ।

कमेन्ट गर्नुहोस्