‘पिताम्बर’ का बारेमा के भन्छन् कलाकार ?

फिल्म । कृषा चौलागाईं निर्देशित एक्सन ड्रामा ‘पिताम्बर’ शुक्रबारदेखि प्रदर्शन हुँदैछ । फिल्मबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरियो जहाँ निर्देशक र कलाकारले यसबारे चर्चा गरे । अभिनेता प्रदीप खड्कालाई ‘बक्सअफिस’ आफूलाई प्रमाणित गर्नुपर्ने दबाब छ । किनकि उनी अभिनित फिल्म ‘एक्टर : टेक वान’ ले आफ्नो साख जोगाउन सकेन । तर, प्रदीप आफूले अभिनेताको रुपमा भिन्न काम गरेको बताउछन् ।

उनले भने, ‘यो सालमा मैले बक्सअफिस भन्दा पनि आफूलाई भिन्न रुपमा परिक्षण गरेको छु, सबै फिल्म बक्सअफिसका लागि हुदैनन् ।’ उनी ‘पिताम्बर’ मा एक्सन स्टारको रुपमा छन् । उनले एक्सन सिकेर नै यसमा काम गरेका हुन् ।

‘निर्देशक, निर्मातासहितको टिमले मेरो सहभागिता खोजेपछि मैले राम्रो फिल्म बनाउन आफूले सकेको मेहनत गरेको छु । निर्माताले गरेको विश्वासलाई टुट्न नदिनु हामी कलाकारको कर्तव्य हो’, उनले भने ।

अभिनेत्री दिव्या रायमाझीको ‘पिताम्बर’ दोस्रो फिल्म हो । प्रदीपको शीर्ष भूमिका रहेको ‘एक्टर : टेक वन’बाट यसवर्ष डेब्यु गरेकी दिव्याले सिक्दै फिल्ममा आगाडि बढ्दै गरेको बताइन । अभिनेता सौगात मल्लले ढिलोचाँडो भएपनि राम्रो फिल्मलाई दर्शकले हेर्ने बताए । उनले आफ्नो पात्रलाई जीवन्त बनाउन सक्दो कोसिस गरेको बताए ।

फिल्ममा दिव्य देव पन्त, प्रमोद अग्रहरि, अनुपविक्रम शाही, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया लगायतका कलाकारले काम गरेका छन् । फिल्म चैत २९ मा प्रदर्शन हुँदैछ ।

कमेन्ट गर्नुहोस्