ब्रेकअपपछिको कथामा ‘रमिताको पिरती’

फिल्म । नेपाली फिल्म ‘रमिताको पिरती’ प्रेममा आएको ब्रेकअपपछिको कथामा आधारित भएर तयार गरिएको छ । आज कमलपोखरीस्थित एक हलमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । निर्देशक सुदिप्ताले ‘रमिता’ नामक पात्रको प्रेममा ब्रेकअप भएपछि उसको जीवनमा आउने उतारचढाव र साँचो प्रेमको खोजीको कथालाई फिल्ममा प्रस्तुत गरिएको जानकारी दिइन ।

फिल्मको कथा ‘रमिता’ पात्रकै वरिपरि घुम्ने निर्देशक सुदिप्ताले बताइन । ‘रमिता’को भूमिकामा अभिनेत्री आना शर्माले अभिनय गरेकी छन् । यसै फिल्ममार्फत गायन क्षेत्रमा स्थापित गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दैछन् । प्रायः आफ्नै गीतका श्रव्यदृश्यमा देखिँदै आउएका श्रेष्ठ यसपटक अभिनयमार्फत नयाँ परिचय बनाउँदै छन् ।

फिल्ममा धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्मको पटकथा निर्देशक सुदिप्ताले नै लेख्नुभएको हो । शिशिर विशङखेले छायाङ्कन, सुनिल सिवाकोटीले सम्पादन र कृतिका बरालले नृत्य निर्देशन गर्नुभएको छ । निर्माण पक्षका अनुसार फिल्म आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउनेछ ।

सेरो फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता सन्तोष लम्साल रहनुभएको छ भने आरपी प्रोडक्सन एसोसिएट निर्माता रहेको छ । निर्देशकसमेत रहेका सुवास कोइराला सह निर्माताका रूपमा आबद्ध छन् । फिल्मका निर्माता सागर लम्साल हुन् । फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहेको छ । फिल्मको वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्