‘एक्लो’ को शोजमा कटौती

फिल्म । प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’ को विकडेज शोजमा उल्लेखनीय कटौती देखिएको छ । १ सय २४ वटा शोजसहित रिलिज भएको यो फिल्मको आइतबारदेखि शोज संख्या घटेर ८१ मा सीमित भएको छ । नयाँ वर्षको अवसर पारेर १ जनवरीदेखि प्रदर्शन भएको फिल्मले राम्रो अकुपेन्सी पाउन सकेको छैन । दर्शक फिल्म हेर्ने मुडमा भएता पनि ‘एक्लो’ ले हलसम्म आकर्षण गर्न सकेको छैन ।

सप्ताहन्तमा औसत शोज पाएको फिल्मको शोज संख्या आइतबारबाट सुरु भएको विकडेजमा घट्न थालेको हो । यद्यपि, फिल्मको सप्ताहन्त कमाइबारे बक्सअफिसको औपचारिक विवरण भने सार्वजनिक भइसकेको छैन । तर, विवरण सुखद नआउने सङ्केत प्रदर्शकले गरेका छन् । केही समीक्षक र प्रदर्शकको भनाइलाई आधार मान्ने हो भने फिल्मले दर्शक हलमा आकर्षित मात्र नभई होल्ड गर्न पनि फिल्मले सकिरहेको छैन ।

प्रदीप खड्कासँगै बेलायती अभिनेता जेमी बेकन, सुनिल थापा र बेनिशा हमालको अभिनय रहेको फिल्मको शोज संख्या रिलिजको तीन दिनमै घट्नु अनपेक्षित मानिएको छ। यसले आगामी दिनमा फिल्मले व्यापार बढाउनेमा सन्देह पैदा गरेको छ ।

प्रदीप शाहीको निर्देशनमा बनेको फिल्मलाई प्रचारप्रसारका क्रममा साइन्स फिक्सन विधाको फिल्मका रूपमा प्रस्तुत गरिएको थियो । तर, दर्शकले मेकिङ र कथावस्तुलाई रुचाएको प्रतिक्रिया दिएका छैनन् । यसअगाडिका दुई फिल्म झैँ निर्देशक शाही यसपटक पनि सफलता पाउने सङ्केत छैन ।

अब फिल्म ‘एक्लो’ लाई बक्सअफिसमा उकालो लाग्न बलियो ‘वर्ड अफ माउथ’ को आवश्यकता देखिएको छ । पछिल्लो समय प्रदीप खड्काले अभिनय गरेका फिल्म ‘पिताम्बर’ र ‘एक्टर टेक वन’ बक्सअफिसमा अपेक्षित सफलता हासिल गर्न नसकेकाले पनि उनलाई हिट फिल्मको खाँचो महसुस गरिएको छ । तर, उनी पछिल्लो समय व्यवसायिक मात्र नभई समीक्षात्मक रुपमा समेत सफल हुनसकेका छैनन् ।

कमेन्ट गर्नुहोस्