फिल्म । ‘अभिमन्यु : च्याप्टर–१’ को गीत ‘लड्की गोरी’ ले रिलिज भएको दुई दिनमै युट्युबमा १० लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ । शुक्रबार सार्वजनिक भएको यो डान्सिङ गीत भोजपुरी लवजमा तयार गरिएको छ । मेला, महोत्सव र उत्सवहरूमा युवाहरूले दिल खोलेर नाच्न मिल्ने यो गीत तराई-मधेश क्षेत्रमा विशेष लोकप्रिय हुने अपेक्षा गरिएको छ ।
पछिल्लो समय डान्सिङ गीतहरूको लोकप्रियता बढिरहेको बेला यो गीतले दर्शकको मन जितेको छ । भोजपुरी लवजमा नेपाली शब्दहरू समेटिएको यो गीत तराई-मधेशमा सदाबहार हुने सम्भावना छ । गीतमा प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको शब्द, संगीत र स्वर छ भने संगीत संयोजन विषम आचार्यले गरेका छन् ।
गीतमा जुना सुन्दासको आइटम डान्स र रोहन विश्वकर्माको कोरियोग्राफी रहेको छ । ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ मा रिलिज हुँदैछ भने हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रिलिज हुने निर्माता विनोद पौडेलले बताएका छन् ।
फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्कने व्यक्तिको संघर्षको कथा प्रस्तुत गर्ने बताइएको छ।पोस्टप्रोडक्सनमा रहेको यो फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन् । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो फिल्म सुशान्त गौतमको डेब्यु निर्देशन हो ।
मुकेश खनालको लेखन र मदन थापाको क्रिएटिभ निर्देशन रहेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता छन् भने विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता छन् । जीवन शाक्य लाइन प्रोड्युसर रहेका छन् ।











