फिल्म । भारतीय क्लासिक फिल्म ‘शोले’ को पुनः रिलिज संस्करण ‘शोलेः द फाइनल कट’ ले नेपालमा दयनीय व्यापार गरेको छ । फिल्मले नेपालमा गएको शनिवारसम्म २ लाख २४ हजार ९५० रुपैयाँ (नेरु) ग्रस आम्दानी गरेको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ को तथ्यांकअनुसार उक्त फिल्मलाई नेपालमा ९ सय ३३ जनाले हेरेका छन् ।
सन् १९७५ मा प्रदर्शन भएको ब्लकबस्टर फिल्म ‘शोले’ ले ५० वर्ष पूरा गरेको अवसरमा गएको डिसेम्बर १२ मा भारतभर पुनः रिलिज गरिएको हो । यसपटक फिल्मलाई फोर के (4K) र डल्बी ५.१ ध्वनि प्रविधिमा रूपान्तरण गर्दै नयाँ संस्करण दर्शकमाझ ल्याइएको छ । ‘शोलेः द फाइनल कट’ मा सन् १९७५ मा सेन्सरका कारण प्रदर्शन हुन नसकेको मूल अन्त्यसहित त्यसबेला हटाइएका केही दृश्यहरू पनि समावेश गरिएको छ, जसले दर्शकको चासो थप बढाएको छ ।
रमेश सिप्पी निर्देशित ‘शोले’ भारतीय फिल्म इतिहासकै सर्वाधिक चर्चित र प्रभावशाली क्लासिकमध्ये एक मानिन्छ । फिल्ममा धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन, सञ्जीव कुमार र अमजद खानजस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको छ । पुनः प्रदर्शनले दर्शकहरूमा पुराना सम्झनाहरू ताजा गराएको प्रतिक्रिया आइरहेका छन् । नेपालमा भने यो फिल्म गत मंगलबारदेखि प्रदर्शनमा आएको छ ।










